पोखरा । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयभन्दा छ महिना अगाडि नै सकिने भएको छ ।
सन् २०२१ जुलाईमा सम्पन्न हुनेगरी निर्माणको जिम्मा पाएको चिनियाँ निर्माण कम्पनी सीएमसीले द्रुत गतिमा काम गरेकाले अवधिभन्दा छ महिनाअगाडि नै विमानस्थल सम्पन्न हुने भएको हो।
विमानस्थलको अवलोकन गर्न पोखरा आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई आयोजना प्रमुख, नागरिक उड्डयन प्राधिकरणका प्रमुख, निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी सीएमसीका प्रतिनिधिलगायतले विमानस्थलको भौतिक र आर्थिक प्रगतिसँगै अहिलेसम्म भएका कामका बारेमा जानकारी गराउँदै छ महिनाअगाडि नै निर्माण सक्ने जनाएका थिए ।
आफू मन्त्री भएदेखि राष्ट्रिय गौरवका आयोजनामा हरेक दिन भएका प्रगतिको जानकारी लिने गरेको बताउँदै मन्त्री भट्टराईले पोखरा विमानस्थलको प्रगतिले आफूलाई उत्साहित बनाएको बताए ।
‘नेपालमा काम ढिलो हुन्छ भन्ने रेडिमेड’ उत्तर स्थापित हुँदै आइरहेका बेला अबौँ रुपियाँको लागतमा निर्माण हुने पोखरा विमानस्थल छ महिनाअगाडि नै सम्पन्न हुने भएपछि त्यस काममा संलग्नलाई रथयात्रा गरेर सम्मान गर्नुपर्छ,‘ भट्टराईले भने।
मन्त्री भट्टराईसमक्ष नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले लक्ष्यको १२० प्रतिशत काम भइरहेको भन्दै छ महिनाअगाडि नै एक सय ६० सिट क्षमताका फोरडी जहाज अवतरण गर्न सक्ने जानकारी गराएका थिए।
निर्माणमा संलग्न कम्पनीका प्रतिनिधि, आयोजना प्रमुखलगायतको बिफिङ सुनेपछि उत्साहित बन्नुभएका मन्त्री भट्टराईलाई छ महिनाअगाडि विमानस्थल सम्पन्न गरी निर्माणमा संलग्नलाई रथयात्रासहित पोखरा घुमाउन आग्रह गरेका थिए । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस