aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

२० वटा ग्यास उद्योगहरू गुणस्तर मापदण्ड पूरा गर्न असक्षम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ भदौ २०७६
२० वटा ग्यास उद्योगहरू गुणस्तर मापदण्ड पूरा गर्न असक्षम

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागबाट अहिलेसम्म ३८ वटा ग्यास उद्योगले मात्रै नेपाल गुणस्तर प्रमाणपत्र (एनएस) चिह्न प्राप्त गरेका छन् । विभागका अनुसार ५८ वटा ग्यास उद्योगमध्ये अझै २० वटा उद्योगले (एनएस) चिह्न लिन सकेका छैनन् ।  विभागले तोकेको न्यूनतम मापदण्ड पूरा गर्न नसकेकाले ती उद्योगले यो चिह्न लिन नसकेका हुन् ।

ग्यासजस्तो प्रज्वलनशील वस्तु उत्पादन तथा बिक्रीमा ग्यास उद्योगीले ध्यान नदिएको भन्दै २०७४ पुसको दोस्रो सातामा सार्वजनिक रूपमा सूचना नै निकालेर विभागले एक महिनाभित्र एनएस चिह्न लिन आह्वान गरेको थियो तर अझै २० वटा उद्योग लिन सक्षम छैनन् । 

विभागका गुणस्तर चिह्न वितरण तथा मूल्याङ्कन प्रमुख सञ्जिकुमार ठाकुरले अधिकांश ग्यास उद्योगले सञ्चालनको मापदण्ड पूरा नगरेकाले एनएस चिह्न नपाएको बताए । 

कतिपय उद्योग एनएस प्रक्रियामा छन् तर मापदण्ड पूरा नभएकोले एनएस चिह्न लिन पाएका छैनन् उनले थपे 'सरकारले गुणस्तर (प्रमाण-चिह्न) ऐनअनुसार एलपीजी बोटलिङ प्रक्रियालाई २०७३ सालदेखि अनिवार्य रूपमा एनएस चिन्ह लिनुपर्ने व्यवस्था गरेको छ ।' यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस