भैरहवा। सरकारले ल्याएको पर्यटन विकासको योजनामा बौद्ध विहार बसाइ “टेम्पल स्टे" समेत समेटिएकोमा पर्यटन व्यवसायीहरूले असन्तुष्टि जनाएका छन् । पर्यटन विकासका अरू योजना राम्रा रहे पनि 'टेम्पल स्टे' योजनाका कारण होटेल व्यवसायी मारमा पर्ने भएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरूको माग छ ।
पर्यटन मन्त्री योगेश भट्टराईले सार्वजनिक गरेको एक वर्षे कार्ययोजनामा लम्बिनी क्षेत्रका दर्जन योजना समावेश छन् तर ती योजनामा समेटिएको टेम्पल स्टे' ले होटल व्यवसाय धरापमा पर्ने सिद्धार्थ होटेल एसोसिएसनका उपाध्यक्ष मेघनाथ आचार्यले बताउनुभयो। “लुम्बिनी लक्षित दर्जन योजना सङ्घीय सरकारको कार्ययोजनामा समेटिएकोमा हामी उत्साहित छौँ, तर
'टेम्पल स्टे' लाई सरकारले नै वैधानिकता दिने हो भने होटल व्यवसायी धराशयी हुन्छन्”- आचार्यले भन्नुभयो ।
गुम्बाहरूमा ठूलो सङ्ख्यामा पर्यटक बास बस्ने परिपाटीले लुम्बिनी क्षेत्रका होटल व्यवसायी अहिले पनि मारमा परेको भन्दै उहाँले आफूहरूले यसको निरन्तर विरोध गर्दै आएको बताउनुभयो । “त्यसैले पनि टेम्पल स्टेको योजना खारेज गर्नुपर्छ, अरू सबै योजनामा हाम्रो साथ र समर्थन रहन्छ”-उहाँले भन्नुभयो। लुम्बिनीभित्र रहेका चिनियाँ, थाई र म्यानमारलगायतका देशका गुम्बा तथा विहारहरूले गेस्ट हाउसलेजस्तै सम्बन्धित मुलुकबाट आउने भिक्षुहरूलाई बास बसाल्ने गरेकाले होटल व्यवसायीले विरोध गर्दै आएका छन् ।यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस