aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

पञ्चामृत खाएको गाउँमा फैलियो रेबिजको त्रास

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, २६ मंसिर २०७९
पञ्चामृत खाएको गाउँमा फैलियो रेबिजको त्रास

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका–१, गोकुलेका स्थानीयवासी रेबिजको त्रासमा छन् । आफूहरूले पूजामा पञ्चामृत खाएको दूध दिने गाई रेबिजको कारण मरेको पुष्टि भएपछि गाउँले सबै त्रासमा परेका हुन् । गत कात्तिक २६ गते स्थानीय पञ्चलाल जिम्बाको घरमा सत्यनारायण पूजा लगाइएको थियो । पञ्चामृत बनाउन दूध प्रयोग गरिएको गाई मङ्सिर १३ गते मरेको थियो । त्यसपछि गाउँमा त्रास फैलिएको छ । अहिले उनीहरू स्वास्थ्यकर्मीको परामर्शमा छन् ।

“मेरो घरमा कात्तिक २६ गते सत्यनारायणको पूजाका लागि पञ्चामृत बनाउन दूध ल्याएको गाई मङ्सिर १३ गते मर्‍यो । गाईमा रेबिजको लक्षण देखिएर परीक्षण गर्दा रेबिज पुष्टि भयो । हामीलाई रेबिजको खोप लगाउनुपर्छ कि पर्दैन ?” स्थानीय पञ्चलाल जिम्बाले गाउँमा पुगेका स्वास्थ्य कार्यालयका प्रमुख डा. पुरुषोत्तमराज सेढाईलाई प्रश्न गरे । उनले पूजाको दिनमा गाउँका थुप्रै व्यक्ति र बालबालिकाले पञ्चामृत खाएका हुनाले उनीहरूको पहिचान कसरी गर्ने र रेबिजविरुद्धको खोप लगाउन के गर्ने र कतिलाई लगाउने भन्ने विषयमा अन्योल भएको बताए । उनले गाउँभरमा १५–२० वटा भुस्याहा र छाडा छोडिएका घरपालुवा कुकुर रहेकाले गाउँमा रेबिज फैलने खतरा रहेको बताए ।

“गाउँभर कुकुर छन्, केही कुकुरले गाउँका केही पशु र मानिसलाई समेत टोकेको छ । यी कुकुरलाई कसरी व्यवस्थापन गर्ने वडा, गाउँपालिकालगायतका निकायले ध्यान दिनु पर्‍यो,” पञ्चलालले थपे । स्थानीय खीरमाया श्रेष्ठले भदौमा घरमा पालेको गाईले गोठमा आएको एउटा कुकुरलाई हान्दा गाईको टाउकोमा कुकुरले टोकेको बताउँदै मङ्सिर १३ गते कुकुरले टोकेको गाई मरेको बताइन् । “कुकुरले टोकेको गाईलाई रेबिज होला भनेर सोचेकै थिएनौँ । मर्ने बेलामा गाईले मुख र नाकबाट र्‍याल निकाल्दै अस्वाभाविक करायो । पछि उक्त गाईमा रेबिज पुष्टि भयो,” खिरमायाले भनिन् । स्थानीय मोहनदास श्रेष्ठले नागरिकको घरघरमा रेबिजबारे जनचेतना नपुगेको बताउँदै गाउँमा पालेका कुकुरलाई रेबिजको खोप नलगाएका कारण रेबिज फैलने खतरा रहेको बताए । 

प्रतिक्रिया दिनुहोस