aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

यातायातमन्त्रीको गाडी नै ट्राफिकको फन्दामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ भदौ २०७६
यातायातमन्त्रीको गाडी नै ट्राफिकको  फन्दामा

काठमाडौं । सडक तथा यातायातसम्बन्धी नीतिनियम बनाउने र त्यसको कार्यान्वयनदेखि रेखदेख गर्ने सबैभन्दा माथिल्लो निकाय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हो। सोही मन्त्रालयका मन्त्री चढ्ने गाडी भने जथाभावी पार्किङ गरेको भेटिएपछि कारबाहीमा परेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढ्ने बा२झ ४८६२ नम्बरको झन्डावाला गाडी बुधबार ट्राफिक प्रहरीको कारबाहीमा परेको हो। यातायातसम्बन्धी नियम बनाउने मन्त्रीकै गाडी अनधिकृत रूपमा पार्किङ गरेको भन्दै सर्वसाधारण आक्रोशित देखिन्छन् भने कारबाही गर्ने ट्राफिक प्रहरीलाई सामाजिक सञ्जालमा धेरैले धन्यवाद दिइरहेका छन्।


नयाँ बानेश्वर क्षेत्रमा जथाभावी पार्किङ गरेर राखेको उक्त गाडीमा ट्राफिक प्रहरीले ह्वील लक लगाइदिएको हो। पार्किङ निषेधित फुटपाथमा रोकिराखेको मन्त्री चढ्ने गाडीमा प्रहरीले सुरुमा ह्वील लक लगाएको थियो। पछि गाडी चालक शिवराम थापाको लाइसेन्स लिएर १ हजार रुपैयाँ जरिमाना गराएर गाडीलाई छाडिएको थियो। ‘पार्किङ निषेधित गरिएको ठाउँमा अनधिकृत पार्किङ गरिएको पाइएपछि कारबाही गरिएको हो, जरिमाना गरेर गाडी छाडिएको छ,’ ट्राफिक प्रहरी महाशाखाले भन्यो।

मन्त्री चढ्ने गाडीमा ह्वील लक लागे पनि त्यसबेला मन्त्री भने गाडीमा नरहेको बुझिएको छ । स्रोतका अनुसार उक्त गाडी गृह मन्त्रालयमा दर्ता छ भने मन्त्रीले गाडी चढ्ने गरेका थिए।


यसअघि ११ असारमा अनधिकृत रूपमा पार्किङ गरिएको गृह प्रवक्ता रामकृष्ण सुवेदीको गाडीमा ट्राफिक प्रहरीले हवील लक गरेको थियो। सहसचिव तथा प्रवक्ता सुवेदीको बा२झ ४३८८ नम्बरको गाडीमा सिंहदरबारनजिकै ट्राफिक प्रहरीले ह्वील लक गरेको थियो। यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस