aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

मुलुकको आर्थिक अवस्थाका आधारमा कर्मचारीका सुविधा हुन्छः तिमिल्सिना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ मंसिर २०७९
मुलुकको आर्थिक अवस्थाका आधारमा कर्मचारीका सुविधा हुन्छः तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको परिस्थिति र आर्थिक अवस्थाका आधारमा कर्मचारीका सेवा सुविधासम्बन्धी विषय सम्बोधन हुँदै जाने बताएका छन् । संसद् सेवा दिवसका अवसरमा सङ्घीय संसद् सचिवालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले देशको आर्थिक अवस्थामा सुधार आएसँगै कर्मचारीका माग पनि सम्बोधन हुँदै जाने विश्वास व्यक्त गरेका हुन् । 

अध्यक्ष तिमिल्सिनाले भने, “देश विकास र समृद्धितर्फ उन्मुख भएसँगै हाम्रा सेवा सुविधा स्वतः वृद्धि हुँदै जानेछ । गाँठो अर्थमा आएर जोडिएको छ । सेवा गरेपछि सुविधा खोज्नु स्वाभाविक भए पनि जनताको अवस्था पनि हामीले बुझ्न जरुरी छ ।” आफू कार्यरत संस्थाले प्रदान गरेको कार्य जिम्मेवारको समीक्षा गर्दै व्यहोर्नुपरेको भोगाइ, कमीकमजोरी र आगामी रणनीति अपनाउन आवश्यक रहेको बताउँदै उनले विगतका  भोगाइ र आजको आवश्यकताबीचको अन्तर पहिल्याउन जरुरी रहेको उल्लेख गरे ।   

पूर्वसभामुख तारानाथ रानाभाटले व्यवस्थापिका कमजोर भएमा लोकतन्त्र मात्र नभई समग्र मुलुक नै कमजोर हुने बताए । उनले भने, “लोकतन्त्र अझै परिपक्व हुन बाँकी नै छ, लोकतन्त्र र विकासलाई ठोसरूपमा अघि बढाउन सञ्चार क्षेत्रले पनि जिम्मेवार ढङ्गले भूमिका खेल्न पर्छ, संसद् सेवाका कर्मचारी सभ्य, सुसंस्कृत, परिष्कृत र परिपक्व भएमा सदनका काम कारबाही प्रभावकारी हुनेछ ।”

राष्ट्रियसभा विधायन समितिका पूर्वसभापति परशुराम मेघी गुरुङले कानून निर्माण गर्ने निकायले नीति र विधिको पूर्णपालना गरी अरुलाई त्यसतर्फ प्रेरित गर्न आवश्यक रहेको बताए । उनले भने, “सरकारलाई विश्वासमा लिएर संसद्लाई प्रभावकारी तुल्याउने काममा सचिवालयले भूमिका खेल्नुपर्छ, संसद् सेवालाई स्वायत्त र स्वशासित विशिष्ट सेवाका रूपमा गरिएको परिकल्पनालाई व्यवहारमा स्थिपित गराउनेतर्फ सरकारले विशेष ध्यान पुर्याउन आवश्यक छ ।”

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव  सुमनराज अर्याल र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले सङ्घीय संसद् र प्रदेशसभाबीच समन्वयको आवश्यकतामा जोड दिँदै व्यक्ति विशेष हितका लागि विधेयक ढिलाइ गर्ने तथा सदनमा प्रवेश पासका नाममा गरिएको झण्झटिलो अभ्यासलाई सुधार्न सुझाव दिए । 

प्रतिक्रिया दिनुहोस