काठमाडौं । सट्टाबाजी गराउने कार्यमा संलग्न व्यक्ति पक्राउ परेका छन् । ‘रसियन बेटिङ एप्लिकेसन वन एक्स बेट’मार्फत सट्टाबाजी गराउने कार्यमा संलग्न
रहेको अभियोगमा महोत्तरी, महोत्तरी गाउँपालिका १ घर भई ललितपुरको ललितपुर महानगरपालिका २ सानेपा बस्ने २० वर्षीय आदर्श ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो ।
फिफा विश्वकप २०२२ लगायत विश्वमा संचालन हुने खेल तथा गतिविधिहरुमा सट्टाबाजी गर्न प्रयोग हुने उक्त एप्लिकेसनमार्फत सट्टाबाजी लगाउने रकम संकलन गर्ने गराउने कार्यमा एजेन्टहरू सक्रिय रहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनले विगत ८ महिनादेखि सट्टाबाजी गर्ने गरेको, बढी रकम संकलन र भुक्तानीको लोभमा विभिन्न व्यक्तिको नाममा डिजिटल वालेट एकाउन्ट कारोबार गरेको, विभिन्न व्यक्तिका नागरिकताको प्रतिलिपि समेत खरिद गरी सोबाट विभिन्न सेवा प्रदायकहरुको सिमकार्ड समेत खरिद गरेको, वालेटमा संकलन गरेको रकम आफ्नो खाता रहेको विभिन्न बैंकमा रकमान्तर गरेको र उनले नविल, सिद्दार्थ र एनआईसी एसिया बैंकमा क्रमश ६९ लाख ६ हजार ७ सय ७० रुपैयाँ, ४५ लाख ५३ हजार ५ सय २३ रुपैयाँ र ८८ लाख २४ हजार १ सय ५५ रुपैयाँ गरी जम्मा २ करोड २ लाख ८४ हजार ४ सय ४८ रुपैयाँ
वालेटबाट रकमान्तरण गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनलाई सट्टाबाजी गर्न गराउन नहुने कसूर अन्तर्गत थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस