काठमाडौं । निर्वाचन आयोगले आज राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष निर्वाचनको प्रतिवेदन बुझाउने भएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको सम्पूर्ण प्रक्रिया पुरा गरेको आयोगले आज त्यसको प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्न लागेको हो ।
निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने प्रावधानबमोजिम बिहीबार प्रतिवेदन पेस गर्न लागिएको आयोगले जानकारी दिएको छ ।
प्रदेशको हकमा प्रदेश प्रमुखसमक्ष पुस २ गते प्रदेश सभा सदस्य निर्वाचनको प्रतिवेदन आयोगका पदाधिकारीले प्रस्तुत गर्ने पनि आयोगले जनाएको छ ।
निर्वाचनको पूर्वसन्ध्यामा आयोगले मङ्सिर १२ गतेभित्र राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन प्रस्तुत गर्ने जनाउँदै मङ्सिर तेस्रो सातादेखि नै सरकार गठनको प्रक्रिया प्रारम्भ हुने गरी तयारी गरेको बताएको थियो ।
तर, तीन जिल्लामा पुनःमतदान भएको र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मङ्सिर तेस्रोसाता मात्रै सम्पन्न हुँदा आयोगले ढिला गरी मतपरिणाम सार्वजनिक गरेको थियो ।
आयोगले राष्ट्रपति समक्ष निर्वाचनको परिणाम प्रतिवेदन बुझाएपछि अब संसदको बैठकको तयरीका साथै नयाँ सरकार निर्माणको समेत प्रक्रिया अगाडि बढ्नेछ ।
प्रतिक्रिया दिनुहोस