aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

प्रचण्डलाई प्रधानमन्त्री बन्न ओलीले दूतमार्फत पठाए सन्देश

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • विहीबार, २९ मंसिर २०७९
प्रचण्डलाई प्रधानमन्त्री बन्न ओलीले दूतमार्फत पठाए सन्देश

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको अन्तिम प्रतिवेदन घोषणा राष्ट्रपतिलाई बुझाउने तयारी गरिरहँदा सरकार गठनबारे विभिन्न दलबीच औपचारिक–अनौपचारिक संवाद सुरु भएका छन् । वर्तमान सत्ता गठबन्धनका चार दलले नयाँ सरकार बनाउने बहुमत नपाएपछि विपक्षी खेमामा रहेको एमालेले पनि सरकार बनाउने विषयमा अनौपचारिक छलफल थालेको छ ।

अनौपचारिक छलफलकै क्रममा एमालेले सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रलाई गठबन्धन छाडेर आए सरकार गठनका लागि सबै विकल्प खुला राख्ने सन्देश पठाएको छ। ‘गठबन्धन छाड्न गाह्रो देखिएको छ । गठबन्धन छाडेर आए कुनै न कुनै विकल्पबारे छलफल गर्न सकिन्थ्यो । त्यो भनेको दाहाललाई प्रधानमन्त्री पनि हो । तर त्यसका लागि गठबन्धन छाडेर आउनुपर्ने भनेर हामीले भनेका छौं,’ माओवादी केन्द्रका नेताहरूसँग अनौपचारिक कुराकानी गर्दै आएका एमालेका एक पदाधिकारीले भने ।

माओवादी केन्द्रले एमालेलाई देखाएर कांग्रेससँग आधाआधा कार्यकाल बाँडेर सुरुमा प्रधानमन्त्री लिन खोजेको छ । एमालेको बुझाइ पनि आफ्ना नेताहरूसँगको भेटघाटलाई देखाएर माओवादी केन्द्रले कांग्रेससँग ‘बार्गेनिङ पावर’ बढाइरहेको भन्ने हो। ‘माओवादी केन्द्रका नेताहरूले एमालेलाई देखाएर कांग्रेससँग शक्ति बाँडफाँटबारे कुरा गरिरहेका छन् । उनीहरूले गठबन्धन छाडेर हामीसँग कुरा गरून् । सबै विकल्पमा खुला छलफल हुन्छ,’ एमालेका ती पदाधिकारीले भने ।

पछिल्लोपटक कांग्रेसभित्र देखिएको शक्ति ध्रुवीकरण र गैरवामपन्थीको मिलेमतोमा सरकार बन्ने सम्भावना देखिएपछि माओवादी केन्द्र एमालेतिर आकर्षित भएको आकलन सो दलका नेताहरूको छ । ‘रात गयो बुद्धि पलायो भनेजस्तो भएको छ । माओवादी अनौपचारिक ढंगले संवादमा आए पनि विश्वासिलो वातावरण बनेको छैन। गठबन्धन छाडेर नआएसम्म विश्वासिलो आधार बन्दैन पनि,’ एमाले स्रोतले भन्यो ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल भने नेताहरूबीच शुभकामना आदानप्रदान हुनुलाई सामान्य ठान्छन् । ‘नेताहरूबीच शुभकामना आदानप्रदान हुनुलाई सामान्य रूपमा लिनुपर्छ । भेटघाटले सम्बन्धलाई सुमधुर बनाउँछ । नेताहरूले भेटघाट गर्दैमा सरकार बनाउने, गठबन्धन टुटाउने भन्नेजस्ता विषयमा कुराकानी भएको भनेर व्याख्या गर्न मिल्दैन । यसलाई ठुलो कुरा मान्नु पनि हुन्न । दलका नेताहरूबीच भेटघाट हुँदा राजनीतिक विषयमै कुराकानी हुन्छ भनेर सोच्नुपर्छ,’ रिजालले भने ।  

निर्वाचनमा मतदान भएको २४ दिनपछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका महासचिव देव गुरुङबीच मंगलबार भेट भयो । सो भेटलाई लिएर अनेकौं अड्कलबाजी गरिएको छ । भेटलाई संयोग र आकस्मिक मान्नुपर्ने कुनै कारण नभएको एमाले नेता बताउँछन् । स्रोतका अनुसार माओवादी केन्द्रका महासचिव गुरुङले एमाले अध्यक्ष ओलीसँग भेटघाट गर्नुका पछाडि एमाले सचिव रघुवीर महासेठको हात छ ।

निर्वाचन क्षेत्र धनुषाबाट फर्किएलगत्तै महासेठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट गरेका थिए । केही दिनदेखि महासेठले होटल हिमालयनमा माओवादी केन्द्रका नेताहरूसँग भेटघाट गर्दै आएका छन् । उनले ओलीकै इसारामा भेटघाट गरिरहेको स्रोतको दाबी छ । महासेठले ओलीका तर्फबाट सरकार गठनबारे सबै विकल्पमा छलफल गर्न एमाले तयार रहेको सन्देश माओवादी केन्द्रका अध्यक्ष दाहालसमक्ष पठाएका छन् । उनले आधाआधा कार्यकालमा सुरुमा सरकारको नेतृत्व गर्न दाहाललाई दिन सकिने गरी छलफलका लागि एमाले तयार रहेको सन्देश दिएको स्रोतको दाबी छ । तर एमालेका कतिपय नेताले भने माओवादी केन्द्रलाई प्रधानमन्त्री नै दिनेगरी संवाद अघि बढिनसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस