aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

नयाँ सरकारका मन्त्रीहरु पनि पुरानै भवनमा बस्ने

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • विहीबार, २९ मंसिर २०७९
नयाँ सरकारका मन्त्रीहरु पनि पुरानै भवनमा बस्ने

काठमाडौं । संघीय तथा प्रदेशसभाको आवधिक निर्वाचन सम्पन्न भएर नयाँ सरकार गठन हुने क्रममा छ । तर, नयाँ मन्त्रीहरुले पनि ललितपुरको भैंसेपाटीमा निर्माण भइरहेको मन्त्री निवासमा प्रवेश नपाउने भएका छन् ।

मन्त्रिहरुका लागि भैंसेपाटीमा निर्माण भइरहेको भवनको ७८ प्रतिशत भौतिक र ६५ प्रतिशत वित्तीय प्रगति मात्र पूरा भएको छ ।

सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले बनाउन लागेको यो भवन लामो समय देखि अधुरो छ । यही कारण नयाँ मन्त्रिहरु पनि पुल्चोकको पुरानो भवनमा नै वस्न वाध्य हुनेछन् ।

समन्वय कार्यालयका उपनिर्देशक दीपक श्रेष्ठका अनुसार आगामी चैतसम्ममा बल्ल पहिलो चरणको काम पूरा हुनेछ । हाल पुलचोकमा रहेको मन्त्री निवासलाई स्थानान्तरण गर्ने सरकारको निर्णयबमोजिम ललितपुरको भैंसेपाटी आवास क्षेत्रमा मन्त्री निवास बनिरहेको हो ।

नयाँ मन्त्री तत्काल नयाँ भवनमा वस्न नपाउने भए पनि ४ महिनापछि निवास तयार हुने आयोजना उपनिर्देशक श्रेष्ठले बताए । उनले भने, सिभिल वर्क पूरा भएर फिनिसिङको काम भइरहेको छ । थप निर्माण गर्नुपर्ने भित्रि साजसज्जाको लागि पनि काम भइरहेको छ ।

२०७६ कात्तिक २७ गते सुरु भएको मन्त्री निवासको काम २०७९ कात्तिकमा पूरा गर्नुपर्ने थियो । तर कोभिड–१९का कारण आगामी चैतसम्म म्याद थप गरिएको छ ।

प्रतिक्रिया दिनुहोस