aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

यस कारण तोकिएको समयमा नबन्ने भो नागढुंगा नौबिसे सुरुङमार्ग

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शुक्रबार, ०१ पुस २०७९
यस कारण तोकिएको समयमा नबन्ने भो नागढुंगा नौबिसे सुरुङमार्ग

काठमाडौं । नागढुङ्गा–नौबिसे सुरुङमार्ग निर्माण तोकिएकै मितिमा सम्पन्न नहुने भएको छ । निर्माण सम्पन्न गर्नुपर्ने म्याद सकिन ६ महिना बाँकी रहँदा आधा पनि काम नसकिएपछि निर्माण कार्य तोकिएकै मितिमा सम्पन्न नहुने देखिएको हो ।

आयोजनाको पछिल्लो पटक थपिएको म्याद २०८० जेठ महिनामा सकिँदै छ । तर, यो समयमा अहिले बाँकी रहेको काम सकिने सम्भावना छैन । निर्माण आयोजनाका प्रमुख माधव अधिकारीका अनुसार काम निर्धारित समयमा नसकिने भएपछि आयोजनाको म्याद पुनः थप्नुपर्ने छ । 

भौगोलिक समस्याका कारण निर्धारित समयमै काम सक्न समस्या भएको अधिकारीले बताए।  उनले भने, ‘‘सुरुङ्मार्ग निर्माणको क्रममा अपेक्षा गरिए अनुसारको चट्टान फेला परेन त्यसकारण तोकिएको समयमै काम नसकिने देखियो।’’

सुरुङमार्ग निर्माणको तीन वर्ष पूरा हुँदा भौतिकतर्फ ४६।२६ प्रतिशत र वित्तीयतर्फ ४८.८३ प्रतिशत प्रगति भएको छ । निर्माण सुरु भएको तीन वर्ष बित्दा पनि आयोजनाको ५४ प्रतिशत काम बाँकी छ । कोरोना महामारीका कारण सुरुमा आयोजनाको म्याद तीन महिना थपिएको थियो । 

साढे दुई वर्षमा सक्नेगरी २०७६ कात्र्तिकमा आयोजनाको निर्माण सुरु गरिएको थियो । अहिले आयोजनाको ६ देखि नौ महिना म्याद थप्ने तयारी भइरहेको अधिकारीले बताए । अधिकारीले भने, ‘यस आयोजनाको निर्माण तोकिएको समयमा नसकिने भएपछि फेरि म्याद थप्ने कुरा अघि बढेको छ । कम्पनीले ६ देखि नौ महिना म्याद थप गर्न प्रस्ताव गरेको छ ।’

म्याद थप हुँदा यसको लागतमा भने वृद्धि नहुने उनको भनाइ छ । अधिकारीले भने, ‘आयोजना तोकिएकै मितिमा सक्ने लक्ष्य थियो । तर नसकिने देखियो । यो आयोजनाको म्याद थप गर्दा लागतमा भने वृद्धि हुँदैन ।’ यो आयोजना जापानको हाज्मा (आन्द्रो जेभी) ले निर्माणको जिम्मा पाएको हो । आयोजनाअन्तर्गत टनेलतर्फको काम भने ७० प्रतिशत सकिएको छ । कुल दुई हजार ६८८ मिटर लम्बाई हुने मुख्य टनेल पूर्व र पश्चिमतर्फ गरेर कुल एक हजार ७११ मिटर खनिसकिएको छ ।  

प्रतिक्रिया दिनुहोस