काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छली गरेर ल्याइएका चामल बरामद गरेको छ । प्रहरीले बिहिबार भन्सार छली ल्याइएका चामल तथा अन्य सामाग्रीहरू बरामद गरेको हो ।
विभिन्न किसिमका चामलहरूका साथै अन्य खाद्यान्न तथा अन्य सामाग्रीहरू भन्सार छली चोरी पैठारी गरी वीरगञ्जमा ल्याई अनाधिकृतरूपमा भण्डारण गरी राखेको भन्ने प्राप्त सूचना प्रहरीले पाएको थियो । उक्त सूचनाका आधारमा वडा प्रहरी कार्यालय विर्ता पर्सा तथा सशस्त्र प्रहरी बल नेपाल हे.क्वा नं.१३ गण श्रीपुर वीरगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.११ रानीघाटमा लुकाइ छिपाइ भण्डारण गरी राखिएको श्याम बर्णवाल, सुजित गुप्ता, प्रधुमन गुप्ता र विनोद कुमार साहको गोदामहरू कानुन बमोजिम खानतलासी गरिएको थियो ।
जसमा चामल २८१ क्विन्टल, मैदा १० क्विन्टल, सर्किकल मेडिकल सामाग्री २ कार्टुन, हार्पिक ९ कार्टुन, हैण्डवास २ कार्टुन र स्प्रे २ कार्टुन गरी २१ लाख १६ हजार चार सय रुपैयाँ बराबरका चामल तथा अन्य सामाग्रीहरू बरामद गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि आज वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस