aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

वालेट प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि, एक महिनामै करिब तीन लाख जना थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ पुस २०७९
वालेट प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि, एक महिनामै करिब तीन लाख जना थपिए
फाइल फोटो

काठमाडौं । प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय डिजिटल भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि भएको छ । कोभिड महामारी अगाडि सामान्य रुपमा अगाडि बढेको डिजिटल कारोबार त्यसयता भने निरन्तर बढिरहेको देखिन्छ । प्राविधिक पूर्वाधारको विकास, कारोबारमा प्रोत्साहन तथा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानीको कारोबारमा वृद्धि भएको हो ।   

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार एक महिनाको अवधिमा करिब तीन लाख वालेट प्रयोगकर्ता थपिएका छन् । गत वर्षको असोज महिनाको तुलनामा कात्तिक महिनासम्ममा २ लाख ९३ हजार ९१५ जना नयाँ वालेट प्रयोगकर्ता थपिएका हुन् । गत वर्षको असोज महिनासम्म एक करोड ४८ लाख ३९ हजार ८२० जना वालेट प्रयोगकर्ता रहेका थिए । उक्त प्रयोगकर्ता बढेर कात्तिक महिनासम्म आइपुग्दा एक करोड ५१ लाख ३३ हजार ७३५ जना पुगेका हुन् । 

वालेटसंगै मोबाइल बैंकिङका प्रयोगकर्ताहरु पनि बढेका छन् । गत असोज महिनासम्म एक् करोड ९१ लाख २ हजार ६५२ जना रहेकोमा उक्त संख्या बढेर कात्तिक महिनासम्म आइपुग्दा एक करोड ९४ लाख ३ हजार ६८० जना पुगेका हुन् ।

नेपाल राष्ट्र बैंकका अनुसार एक वर्षको अवधिमा इन्टरनेट बैंकिङका प्रयोगकर्ताहरु पनि  बढेका छन् । गत असोज महिनासम्म १७ लाख १९ हजार ७३३ जना इन्टरनेट बैंकिङका प्रयोगकर्ताहरु रहेकोमा उक्त संख्या बढेर कात्तिकसम्म आइपुग्दा १७ लाख ५० हजार ९३६ पुगेको छ । 

त्यस्तै, कनेक्ट आइपिएस, डेबिट कार्ड र क्रेडिट कार्डका प्रयोगकर्ता पनि बढेका छन् । गत कात्तिक महिनासम्म कनेक्ट आइपिएसका प्रयोगकर्ताहरु ९ लाख ५८ हजार २५० जना पुगेका छन् । यस्तै, यस अवधिमा डेबिट कार्ड प्रयोगकर्ता एक करोड १७ लाख ३८ हजार ९७३ जना र क्रेडिट कार्डका प्रयोगकर्ता २ लाख ६९ हजार ४७६ जना पुगेका छन् । 

प्रतिक्रिया दिनुहोस