aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

वैदेशिक रोजगारीको आसमा लाखौं बुझाएकाको सडकमा बास

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • शनिबार, ०२ पुस २०७९
वैदेशिक रोजगारीको आसमा लाखौं बुझाएकाको सडकमा बास

काठमाडौं । बर्दियाको बारबर्दिया–५ का अर्जुन थारू ‘बाइक राइडर’को जागिरमा मासिक १ लाख तलब सुविधा पाउने गरी काठमाडौंको बसुन्धरास्थित प्रस्तुति म्यानपावरमार्फत गत जुलाई २४ मा युएई उडे । थारूसँगै अन्य ८० जना नेपाली सोही म्यानपावर कम्पनीलाई ५र५ लाख रूपैयाँ बुझाएर युएई उडेका थिए । नेपालबाट उड्नुअघि म्यानपावर कम्पनीले युएई पुगेको एक सातामा ‘बाइक राइडिङ’को अनुमति पत्र (लाइसेन्स) प्राप्त हुने र त्यसपछि नियमित काम सुरु हुने बताएको थियो । तर युएई पुगेको महिनौं बित्दा पनि उनीहरूले लाइसेन्स प्राप्त गर्न सकेनन् ।

‘हामी म्यानपावर कम्पनीलाई ५–५ लाख रूपैयाँ बुझाएर युएई उडेका थियौं । म्यानपावर कम्पनीले त्यहाँ गएको एक सातामा लाइसेन्स पाइने, त्यसपछि नियमित काम सुरु हुने र मासिक १ लाख कमाउन सकिने भनेको थियो तर भनेअनुसार केही पनि भएन,’ थारूले भने  । युएईमा ओर्लिएको पाँच घन्टापछि थारूलाई प्रस्तुति म्यानपावरकै सञ्चालक नवराज थापा नाम गरेका व्यक्ति लिन आए। उनले थारूलाई एउटा कोठामा लिएर गए। त्यहाँ जाँदा थप १८–२० जना नेपाली निन्याउरो अनुहार लगाएर बसिरहेका थिए । उनीहरूले थारूलाई हेर्दै थिए । तीमध्ये एक जनाले भने, ‘तिमी पनि फस्यौ ।’ त्यसपछि भने थारू झसंग भए  । त्यहाँ उनीहरूलाई एउटा कोठामा भेडाबाख्रा कोचेजस्तै गरी राखिएको थियो।

नेपालबाट राम्रो कमाइको आसमा ऋण खोजेर युएई पुगेका थारू के गर्ने के नगर्ने भनेर अन्योलमा परे । ‘म त झन् ऋण खोजेर त्यहाँ गएको थिएँ । अब डुबियो भन्ने लाग्यो। त्यो दिन कोठामा रहेका सबैले कसरी फसियो भनेर आपसमा अनुभव साटासाट गर्‍यौं । राति निद्रा पनि लागेन,’ उनले भने, ‘परिवार सम्झें, ऋण सम्झें । त्यसपछि त झन् बेहोसै होलाजस्तो भयो ।’ केही दिन बसेपछि उनीहरूलाई सो कोठाबाट निकालियो । त्यसपछि थप दुःखका दिन सुरु भए । उनले त्यहाँ बस्न नेपालबाटै खर्च मगाउनुपर्ने भयो । राम्रो आम्दानी हुने आसमा महँगो शुल्क तिरेर वैदेशिक रोजगारीमा गएका थारू गत नोभेम्बर २५ मा भारतको बाटो हुँदै नेपाल फर्किए। हाल उनी आफू म्यानपावर कम्पनीबाट ठगिएको उजुरीसहित वैदेशिक रोजगार विभाग धाइरहेका छन् । थारूले युएईमा दुःख पाइरहेको समयमा पनि नेपालबाट बाइक राइडरको जागिरमा भन्दै प्रस्तुति म्यानपावर कम्पनीले नेपाली युवालाई युएई पठाउन छाडेको थिएन ।

थारूजस्तै इलामका आकाश लिम्बू पनि बाइक राइडिङकै काम पाउने आसमा गत मे १ मा प्रस्तुति म्यानपावरबाटै युएई उडेका थिए । उनले पनि युएई उड्नुअघि म्यानपावर कम्पनीका कर्मचारी विनोद कार्कीकी पत्नी मुनादेवी कार्कीको बैंक खातामा ५ लाख रूपैयाँ जम्मा गरिदिएका थिए । उनी पनि करिब सात महिना युएई बसेर गत अक्टोबर २३ मा नेपाल फर्किए । उनको पनि कथा थारूकै जस्तो छ । उनलाई पनि सुरुमा नेपाली युवालाई राखेको कोठामा लगियो । पछि उक्त कोठाबाट उनी निकालिए । बाइक राइडिङको काम पाउने आसमा सात महिना बित्यो । त्यस अवधिमा उनले म्यानपावरलाई बुझाएको बाहेक युएईमा बस्नखान नेपालबाट थप ६ लाख रूपैयाँ मगाए ।

प्रतिक्रिया दिनुहोस