aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

शितलहरको मारमा मधेशी विपन्नलाई ओसिएको परालको सहारा

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • शनिबार, ०२ पुस २०७९
शितलहरको मारमा मधेशी विपन्नलाई ओसिएको परालको सहारा

काठमाडौं । परालले छाएको सानो छाप्रो।एकातिर काठ र अर्कातिर परालको बेरा । चिसो भुइँमा बिछ्याइएको डसना । त्यसमाथि ओछ्याइएको पातलो सुकुल । नजिकै चिथ्रा परेका पुराना कपडा जोडेर बनाइएको ओढ्ने । सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–६ सीतापुरका ६० वर्षीय परमेश्वर पासवानको घरको दृश्य हो यो । दुई दिनदेखि चलेको शीतलहरको सिरेटोले परमेश्वरलाई अत्याएको छ । दुई वर्षअघि शीतलहरकै कारण उनकी पत्नी माकोदेवी पासवानको मृत्यु भएको थियो ।

धनगढीमाई नगरपालिका–३ हनुमाननगरकी ६५ वर्षीया सुकनीदेवी सदायलाई शीतलहरको सिरेटोले कपाइरहेको छ । सडकछेउस्थित ऐलानी जग्गामा लहरै फुसका छाप्रा छन् । तिनैमध्ये एउटा छाप्रामा सुकनी सदायको पाँचजनाको परिवार अटाएको छ । चार छोरी र एक छोरा गरी पाँच सन्तानमध्ये दुई छोरीको विवाहमा सर्वस्व गुमाइसकेकी उनलाई न्यानो ओढ्ने, ओछ्याउने र लगाउने जोहो गर्न हम्मे छ । गोलबजार नगरपालिका–१० मुसहरी टोलकी ५० वर्षीया जंगली सदाय दिउँसो चल्ने हावामा ओछ्यानमुनिको पराल सुकाउँछिन् । राति चिसोले ओसिएको भुइँमा ओछ्याइएको पराल दिनभरि हावामा सुकाएर राति फेरि बिछ्याउनु उनको दैनिकी हो । ‘चिसो भुइँ न्यानो पार्ने सहारा नै पराल हो । गर्मीमा जेनतेन चल्छ, जाडोमा गाह्रो हुन्छ,’ उनले भनिन्, ‘रुईको सिरक–डसना जोड्ने औकात छैन । हामी गरिबका लागि पराल नै सिरक–डसना ।’

मधेसका दुर्गम क्षेत्रमा मंसिरको मध्यबाटै बिहान–साँझ चिसो सुरु भएर पुसदेखि ह्वात्तै बढ्छ । पुसको सुरुवातसँगै शरीर कठ्यांग्रिन थालेको छ । हुनेखानेले बाक्लो लुगा पहिरेर ज्यानलाई जतन गरेर राखेका छन् । तर आर्थिक स्थिति कमजोर हुने मधेसका सुकुम्बासी मुसहर, डोम, चमारलगायत समुदायमा भने बर्सेनि शीतलहर कहर बनेर आउँछ । बनिबुतो गरेर दुई छाक जेनतेन टार्ने सुकुम्बासी मुसहरलगायत समुदायका मानिसलाई चिसो छल्ने न्यानो कपडा र सिरक–डसना किन्ने हैसियत पुग्दैन। चिसो बढेपछि बस्तीका अभावग्रस्त नागरिक निदाउन सक्दैनन् । शरीर कठ्यांग्रिँदा राति निद्रा लाग्दैन, पराल बालेर आगो तापौं भने चिसो भुइँमा के बिछ्याउने ? पिरलोमै यस बस्तीको दिनरात कटिरहेको छ । यसै बस्तीकी ४० वर्षीया श्यामदेवी सदायको एककोठे छाप्रोमा सातजनाको परिवार कोचिएर बस्नुपर्ने बाध्यता छ । चारजना छोराछोरी र वृद्ध सासूलाई छाप्रोभित्र राखेर श्याम दम्पतीको रात घरबाहिर खुला आकाशमुनि बित्छ । ओढ्न–ओछ्याउन परालसँगै घरका पुराना कपडा प्रयोग गर्नु त्यो दम्पतीको बाध्यता हो ।

धोबियाधार (खोला) को डिलमा रहेको सुकुम्बासी मुसहर बस्तीमा वर्षामा घर डुबान र हिउँदमा शीतलहर पिरलो बनेर आउँछन् । ‘पराल ओछ्याएर चिसो भुइँमा ओढ्ने पुरानो कपडा छ,’ उनले भनिन्, ‘गरिबलाई खान त पुग्दैन । कहाँबाट न्यानो लुगा लगाउनु ?’

शीतलहरका बेला मधेसको अभाव बस्तीमा कठ्यांग्रिएर मानिस मर्न थालेपछि बर्सेनि न्यानो कपडा बाँडिन्छ । उनीहरूको जीवनस्तर सुधार्न थुप्रै बजेट खर्चिन्छ । तर उनीहरू चिसोसँग सधैं पैठेजोरी खेल्न बाध्य छन् । ज्यानमारा बन्दै गएको शीतलहरबाट गरिब र विपन्न परिवारलाई जोगाउन सरकारी योजना पनि टालटुले मात्र छ । गत दुई वर्षमा चिसोले मधेस प्रदेशको विपन्न बस्तीमा १०० जनाको मृत्यु भइसकेको छ ।

ज्यान जोगाउन संघर्ष  
चिसो बढ्न थालेपछि सिरहाको अति विपन्न मुसहर समुदायमा चिन्ता थपिएको छ । प्रत्येक वर्ष जाडोमा कठ्यांग्रिँदो दैनिकी बिताउने मुसहर समुदाय कसरी ज्यान जोगाउने भनेर चिन्तामा छन् । उनीहरू के लाउने, के ओछ्याउने र के ओढ्ने भनेर चिन्तामा परेका हुन् । पुस–माघको शीतलहर कसरी काट्ने भन्ने चिन्ताले यस भेगका विपन्नलाई सताएको छ । चरम आर्थिक अभावमा रहेका उनीहरूका लागि जाडो मौसमको सहारा पराल नै बन्ने गरेको छ ।  

प्रतिक्रिया दिनुहोस