धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३, आहालेका ७४ वर्षीय विष्णुबहादुर आलेमगरले चलाउने भिभो कम्पनीको मोबाइल घरबाटै चोरी भयो । मोबाइल खोज्नेक्रममा गाउँकै १३ वर्षीय र १५ वर्षीय (नाबालक भएकाले दुवैको नाम नखुलाइएको) दुई जनाले चोरेको पत्ता लाग्यो । मोबाइलधनी मगरले चोरी गर्ने दुई बालकलाई खाजा खान भन्दै केही पैसा दिएर फकाउँदै उक्त मोबाइल फिर्ता लिए । मोबाइल चोर्ने व्यक्ति नाबालक भएको र मोबाइल पनि फिर्ता पाएको हुनाले त्यतिखेर सो घटना त्यत्तिकै सामसुम भयो ।
वडाध्यक्ष कमल थापाका अनुसार यो घटना मङ्सिर पहिलो साता भएको थियो । तर मोबाइल चोर्दा पनि कारबाही गर्नुको सट्टा उल्टै पैसा पाएपछि ती बालक झन् हौसिए र दोस्रो पटक पनि सोही मोबाइल चोर्न मङ्सिर २४ गते मगर दम्पतीको घर गए । त्यतिखेर भने उनीहरूले मोबाइलमात्रै चोरेनन्, मोबाइल प्रयोग गर्दै आएका विष्णुबहादुरसहित उनकी श्रीमती ६७ वर्षीय नीरमाया आलेको समेत बीभत्स हत्या गरे । सुन्दा पनि आङ जिरिङ्ग हुने यो घटनामा संलग्न भएको आरोपमा ती बालकलाई काठमाडौँबाट गएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा चार दिनपछि पक्राउ गरिएको छ । ब्युरोका प्रहरी निरीक्षक सुरेश खत्रीका अनुसार नागरिकता नबनेका कारण चोरीमा संलग्न नाबालक भएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएकाले उनीहरूको नाम गोप्य राखिएको छ । उनीहरूलाई अहिले जिल्ला प्रहरी कार्यालय धादिङमा राखिएको छ। दुवै बालक स्थानीय स्कुलमा कक्षा ६ र ८ मा पढ्दै गरेका हुन् ।
उक्त घरमा आलेमगर दम्पतीमात्रै बस्दथे । वडाध्यक्ष थापाका अनुसार उनीहरूका छोराबुहारी काठमाडौँमा डेन्टल हाउस खोलेर बसेका थिए एकमात्र छोरीको विवाह भइसकेको छ । दम्पतीको हत्या २४ गते भए पनि २६ गते बिहानमात्रै स्थानीयले थाहा पाएका थिए । सँगै घाँसदाउरा गर्ने एक छिमेकी महिलाले २६ गते बिहान नीरमायाका श्रीमान् विष्णुबहादुरलाई घरबाहिरको खाटमा लडिरहेको अवस्थामा देखे। विष्णुबहादुरको शव देखेपछि आत्तिँदै उनले गाउँलेलाई खबर गरे । गाउँले आएर हेर्दा नीरमाया पनि घरभित्र लडिरहेकी थिइन्। यो घटना २४ गते बिहान करिब साढे सात बजेको थियो ।
बीभत्स हत्या देखेर आत्तिएका गाउँले छलफलमा जुट्दै गर्दा साँझसम्ममा जिल्ला प्रहरी कार्यालय धादिङ, इलाका प्रहरी कार्यालय सल्यानटार र कुकुरसहित काठमाडौँबाट गएको केन्द्रीय प्रहरी ब्युरोको टोलीसमेत पुग्यो । तीन दिनसम्म निरन्तर अनुसन्धान गर्नेक्रममा प्रहरीको टोलीले मङ्सिरकै पहिलो साता पनि मोबाइल चोरी भएको घटनाको जानकारी पायो । सोही जानकारीका आधारमा ती दुईसहित शङ्कास्पद पाँच जनालाई पक्राउ गर्यो । थप अनुसन्धान गर्दा पाँचमध्ये दुई बालकले दम्पतीको आफूहरूले हत्या गरेको र हत्यामा बन्चरो प्रयोग गरेको स्वीकारेका छन् ।
प्रतिक्रिया दिनुहोस