
काठमाडौं । ‘को बन्ला राष्ट्रपति ? प्रधानमन्त्रीमा को आउला ?,’ चुनावपछि सबैको चासो छ। जनताले चुनावमा कुनै एक दललाई मात्रै बहुमत दिएनन् । प्रधानमन्त्री र राष्ट्रपति हात पार्न दलहरू ‘मिल्नैपर्ने’ जनताको म्यान्डेड छ । त्यसैकारण दलहरू भागबन्डाको संवाद र छलफलमा व्यस्त छन् । ५ दलीय गठबन्धनका दलहरू ‘मिलेरै’ यी पद भागबन्डा गर्नेतिर सक्रिय छन् । उता विपक्षी एमाले गठबन्धन भत्काएर नयाँ समीकरण बनाउने प्रयत्नमा छ । किनभने, यही समीकरण रहिरहे सत्ता र शक्तिका कुनै पनि पद एमालेले नपाउने पक्का छ ।
यता, ५ दलीय गठबन्धनमा पनि राष्ट्रपति र प्रधानमन्त्रीको भागबन्डा मिलिसकेको छैन । कांग्रेस दुवै पद आफूले पाउनुपर्ने अडानमा छ । गठबन्धनका अरू दलहरू ‘प्रधानमन्त्री र राष्ट्रपति’ मध्ये कांग्रेसले एक रोज्नुपर्ने तर्क गर्न थालेका छन् । कांग्रेसमा पनि संसदीय दलको नेताका लागि उत्तिकै दौडधुप चलेको छ । तर, गठबन्धनमा रहेका अरू दलका नेताहरू भन्छन्, ‘राष्ट्रपति र प्रधानमन्त्री दुवै पद कांग्रेसलाई दिन सकिन्न ।’
कांग्रेसले दुवै पद नछोड्ने संकेत पाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ समीकरणको ‘प्रयास’ थालेका छन् । कांग्रेसले दुवै पदको दाबी नछोडे एमालेसँग नयाँ समीकरण हुनसक्ने भन्दै प्रचण्डले एमालेसँग बाक्लो छलफल अघि बढाएका छन् । त्यसकै परिणाम, प्रचण्डले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरिसकेका छन् । ‘दुवै पदको दाबी गर्नका लागि कांग्रेससँग बहुमत छ र ?’माओवादीका एक स्थायी समिति सदस्यले भने, ‘दुइटामध्ये एक पद कांग्रेसले छोड्नै पर्छ । नभए अनेक विकल्प छन् ।’
यता कांग्रेसका नेताहरू भने प्रधानमन्त्री र राष्ट्रपति आफैंले लिने अडान राखिरहेका छन् ।
गठबन्धनमा रहेका अरू नेताहरूले पनि राष्ट्रपति बन्न चासो देखाएका छन् । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले त चुनाव अघि नै ‘राष्ट्रपति र सभामुख’ पदको पनि भागबन्डा गर्न प्रधानमन्त्री देउवासँग प्रस्ताव गरेका थिए । तर, त्यतिबेला ठोस निर्णय भएन ।
राष्ट्रपतिका आकांक्षी खनाल प्रधानमन्त्री र राष्ट्रपतिमध्ये कांग्रेसले एक रोज्नुपर्ने बताउँदै आएका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बन्न गठबन्धनका अरू नेताहरूले ‘दबाब’ बढाइरहेका छन् । यता कांग्रेसको १४औं महाधिवेशनकै क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेललाई ‘भावी राष्ट्रपति’ मा धेरै नेताले प्रस्ताव गरेका थिए । पार्टी सभापति शेरबहादुर देउवाले ‘राष्ट्रपति’ बनाउने आश्वासन दिएकै कारण महाधिवेशनमा पौडेल ‘चुपचाप’ बसेको र त्यसकै लोभमा परेर देउवालाई सहयोग गरिरहेकोे कांग्रेसकै एकथरि नेताहरूको भनाइ छ ।
विपक्षी एमालेका तर्फबाट भावि राष्ट्रपतिमा सुवास नेम्बाङको नाम लिने गरिन्छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपतिको तेस्रो पटक उम्मेदवार बन्न संविधानले नै छेकेका कारण संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख नेम्बाङको नाम लिने गरिन्छ । ०७२ मा संविधान जारी भएपछिको राष्ट्रपति निर्वाचनमा पनि नेम्बाङलाई राष्ट्रपति भनेर एकथरी नेताहरूले चर्चा गरेका थिए । तर, त्यतिबेला भण्डारीलाई नै राष्ट्रपतिमा दोहोर्याउने निर्णय एमालेले गरेको थियो ।
राष्ट्रपतिको योग्यता
प्रतिक्रिया दिनुहोस