aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

गैरकानुनी भाडावृद्धि गरेको भन्दै औद्योगिक क्षेत्रमा व्यवसायी आन्दोलित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ पुस २०७९
गैरकानुनी भाडावृद्धि गरेको भन्दै औद्योगिक क्षेत्रमा व्यवसायी आन्दोलित

काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले नियमावली विपरीत, असमान, अन्यायपूर्ण तथा विभेदकारीरुपमा औद्योगिक क्षेत्रको भाडावृद्धि गरेको भन्दै उद्योगीहरूले  विरोध गरेका छन् । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले आइतबार पत्रकार सम्मेलन गर्दै विरोध जनाएको छ ।  

महासंघका अध्यक्ष रामहिरा पाठक लिमिटेडले भाडावृद्धि गर्नु गैरकानुनी रहेको बताए । पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘जमिन तथा भवनको भाडा वृद्धि गर्नु न्यायिक हुन सक्दैन । हामी मान्न तयार छैनौँ । यो भाडावृद्धि गैरकानुनी हो ।’  

उद्योग क्षेत्रमा अर्बौँ लगानी आइसकेको भएकोले यस क्षेत्रमा जे पनि गर्न मिल्छ भन्ने खालको काम गरिएको उनले आरोप लगाए । उद्योग फस्टाउने वातावरण बन्नु पर्ने उद्योगीहरूको माग रहेको बताउँदै उनले भने, ‘प्रत्येक ६ वर्षका भाडा वृद्धि गर्ने भनिएको थियो । तर, यहाँ नियमविपरित भाडा वृद्धि गरिएको छ । यसले नेपालमा औद्योगिक वातावरण बन्दैन । ’ साथै, एकै पटक आठ सय प्रतिशतसम्म भाडा वृद्धि गरिएकोमा उनले गुनासो गरे ।

भाडावृद्धि गर्ने बेलामा १० सूत्रे माग पुरा नभएसम्म भाडा वृद्धि गर्न हुँदैन भन्ने उद्योगीहरूको माग रहेको अध्यक्ष पाठकले बताए । उनका अनुसार औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली २०७१ कार्यविधि हो । यसको नियम १७ को उपनियम (न)मा जग्गा वा भवन भाडा सम्बन्धमा गरिएको सम्झौताको कुनै सर्त वा विषयलाई लिएर कार्यालय र उद्योगबिच विवाद उत्पन्न भएमा प्रचलित कानुन अनुसार त्यस्तो विवादको समाधानको उपाय खोजिनेछ भनिएको छ । तर, विवाद उत्पन्न भएको विषयलाई समाधान गर्नेतर्फ काम नगरिएको उद्योगीहरूको भनाई रहेको छ । 

‘यो लिमिटेड न्यायिक, अर्धन्यायिक र प्रशासनिक निकाय होइन । तसर्थ निर्देशनात्मक निर्णय मान्न उद्योगहरू तयार छैनन । सञ्चालक समितिले उद्योग महासंघसंग सहमति नगरी गरेको भाडा वृद्धिको निर्णय फिर्ता नहुँदासम्म कुनै पनि उद्योगले लिमिटेडलाई भुक्तानी गर्नु पर्ने सबै रकम रोक्का राख्ने छौँ’ उनले भने ।  

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ भारत र चीनले जस्तै नेपालले पनि ५० देखि एक सय वर्षसम्म जग्गा लिजमा दिनुपर्ने बताए । औद्योगिक क्षेत्रको भाडा वृद्धिको विषय तत्काल फिर्ता हुनु पर्ने उनले माग राखे । 

‘उद्योगको लागत घटाउनका लागि सरकारले केही गरेन भने औद्योगिक क्षेत्र फस्टाउन सक्दैन । उद्योग सञ्चालन गर्नका लागि सरकारले जग्गा उपलब्ध गराउनु पर्छ । यसो गर्न सकिएन भने उद्योग बढ्न सक्दैन’, उनले भने । 

  

 

प्रतिक्रिया दिनुहोस