aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

चीनमा कोभिडको नयाँ लहर देखिएसँगै सडकहरू सुनसान

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • सोमबार, ०४ पुस २०७९
चीनमा कोभिडको नयाँ लहर देखिएसँगै सडकहरू सुनसान

काठमाडौं । कोभिड १९ संक्रमणको नयाँ लहर सुरु भएसँगै चीनका प्रमुख सहरका सडकहरू सुनसान देखिन थालेका छन् । भाइरसबाट बच्न सर्वसाधारण घरमै बस्न थालेपछि यस्तो देखिएको हो । हिउँद यामको सुरुसँगै कोभिड १९ को तेस्रो लहर सुरु भएको चीनका प्रमुख इपिडेमिलोजिस्ट उ जुन्युउले बताएका छन् । अर्को महिना सुरु हुने चिनियाँ नयाँ वर्षमा छुट्टी मनाउन ठुलो संख्यामा मानिस घर फर्कंदा संक्रमण झन् थपिने उनको भनाइ छ ।

सर्वसाधारणको ठुलो विरोधपछि चीनले दुई साताअघि शून्य कोभिड १९ नीति परित्याग गरेको थियो । योसँगै ठुलो स्तरमा गरिने भाइरस परीक्षण पनि बन्द भएको छ । चीनमा गत शनिबार थप २ हजार ९७ जनामा लक्षणसहितको कोभिड १९ संक्रमण देखिएको थियो । ओमिक्रोन भाइरसको संक्रामक भेरियन्टका कारण राजधानी बेइजिङका क्याटरिङ र पार्सल डेलिभरी सेवा अवरुद्ध भइसकेको छ । यसैगरी दाहसंस्कार गृहमा पनि चाप बढ्दो छ । बेइजिङको बाबाओसान भन्ने समाधि गृहमा आइतबार एकै मिनेटमा कैयन् शव वाहन प्रवेश गरेको देखिएको थियो भने समाधिस्थलको पार्किङ स्थल पनि पुरै भरिभराउ थियो ।

‘शववाहनको अभावमा आफन्तहरूले निजी वाहन प्रयोगमा ल्याइरहेका छन्,’ समाधि गृहमा कार्यरत एक कर्मचारीले नाम नबताउने सर्तमा भने । उनका अनुसार समाधिस्थलबाट निस्कने धुवाँका कारण आकाश धुम्म देखिएको थियो भने मृतकको अस्तु संकलन गर्न आतुर आफन्तजनको भिड ठुलो थियो । चीनको उत्तर–पश्चिम सहर जिआनका सबवे खाली रहेको तस्बिर सामाजिक सञ्जालमा राखिएका छन् भने अर्को सहर सांघाईमा चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा पनि कुनै भिड देखिएको छैन । ‘उत्सवको माहोल पुरै हराएको छ,’ सांघाईका एलिस नाम गरेका एक स्थानीयले भने । यसैगरी चेङ्दु सहरको सडक पनि सुनसान देखिएका छन् तर फुड डेलिभरी सेवा भने सुचारु छ ।

प्रतिक्रिया दिनुहोस