aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

यसरी रचे मेस्सीले इतिहास, विश्वकप उपाधिसँगै सर्वोत्कृष्ट खेलाडी पनि

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, ०४ पुस २०७९
यसरी रचे मेस्सीले इतिहास, विश्वकप उपाधिसँगै सर्वोत्कृष्ट खेलाडी पनि

काठमाडौं । आफ्नो कप्तानीमा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कप्तान लियोनल मेस्सी कतारमा आइतबार राति सम्पन्न २२औं फिफा विश्वकपको सर्वोत्कृष्ट खेलाडी भएका छन् ।

८८ हजार दर्शक क्षमताको लुसेल आइकोनिक स्टेडियममा भएको रोमाञ्चक र सनसनीपूर्ण फाइनल भिडन्तमा मेस्सी प्रेरित अर्जेन्टिनाले टाइब्रेकरमा साविक विजेता फ्रान्सलाई ४–२ गोलले हराउँदै उपाधि जितेको हो । 

सर्वोत्कृष्ट खेलाडीसँगै मेस्सीले ब्यक्तिगत गोल्डेन बल पुरस्कार पाउनुभयो । निर्धारित समयमा २(२ र अतिरिक्त समयमा ३(३ गोलको बराबरीमा सकिएको खेलमा टाइब्रेकरमा पुगेर अर्जेन्टिनाले बाजी मारेको थियो । फाइनल खेलमा मेस्सीले दुई गोल गरे । उनले टाइब्रेरममा पनि पहिलो गोल गर्दै टोलीको मनोबल उच्च राखेका थिए । 

पाँचौं पटक विश्वकप खेल्नुभएका ३५ वर्षीय मेस्सीले विश्वकपमा सर्वाधिक २६ खेल खेल्ने खेलाडीको कीर्तिमानसमेत रचेका छन् । उनले यसअघि जर्मनीका पूर्व मिडफिल्डर लोथर माथ्युसको नाममा रहेको २५ खेलको कीर्तिमान तोडेका हुन् ।

फाइनल खेलमा दुई गोल गरेका मेस्सीले यस विश्वकपमा सात गोल गरे । उनले चार गोलका लागि असिस्ट पनि दिएका थिए । मेस्सी विश्वकपमा सर्वोकृष्ट खेलाडी भएको दोस्रो पटक हो । यसअघि उनले सन् २०१४ को विश्वमपमा पनि यस अवार्ड जितेका थिए ।

अर्जेन्टिनाका लागि मेस्सीले विश्वकपमा कीर्तिमानी १३औं गोल पूरा गरेका छन् । मेस्सीले सेमिफाइनलमा क्रोएसियाविरुद्धको खेलमा गोल गर्दै यसअघि गाब्रियल बाटिस्टुटाको नाममा रहेको १० गोलको कीर्तिमान तोडेका थिए । 

छैटौं पटक विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिनालाई तेस्रो उपाधि दिलाउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका मेस्सीको यो पहिलो विश्वकप उपाधि हो । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ को विश्वकप उपाधि जितेको थियो ।

अर्जेन्टिना सन् १९३०, १९९० र २०१४ मा पनि फाइनलमा पुगेको थियो । विश्व फुटबलमा सबै खाले उपाधि चुम्नुभएका मेस्सीले विश्वकप उपाधि मात्र जित्न बाँकी थियो । विश्वकप उपाधि चुम्ने सपना पनि मेस्सीले कतारमा पूरा गरेरै छाडेका छन् । 

प्रतिक्रिया दिनुहोस