
बीमा कम्पनीका अभिकर्ताहरुलाई हाम्रो समाजको ठुलो हिस्साले सही रूपमा बुझेको छैन। त्यसैले उनीहरू हामी आफ्नो लाभको लागी मात्र बीमा गर्न आम मानिसहरूलाई कर गरिरहेका हुन्छौँ भन्ने बुझ्छन्। तर, वास्तविकता त्यो होइन। हामी आफ्नो लागी कम र तपाइको लागी बढी लाभ हुने प्रस्ताव लिएर हिँडिरहेका हुन्छौँ। कुरा गरिरहेका हुन्छौँ।
यो सन्दर्भमा कुरा गर्दा एउटा सत्य खोल्ने पर्छ। स्वयम् म पनि त्यस्तै सोच्थेँ। आम मानिसहरूको भन्दा बुझाई मेरो पनि थिएन। तर, अहिले बुझे वास्तविकता फरक रहेछ। फरक किन र कसरी ? हो, यही कुरा म सामान्य भाषामा आम मानिसले बुझ्ने गरी केही उदाहरण सहित पेस गर्दै छु।
मानौँ कुनै प्राण घातक रोग लागेर तपाईँ अस्पतालको बेडमा जीवनका लागी मृत्युसँग लड्दै गरेका बेला तपाइको स्वाभिमानी श्रीमान् वा श्रीमतीले कोही कसैसँग सापटी माग्दा त्यो व्यक्तिले तपाइको जोडीलाई भिखारीको जस्तो व्यवहार गर्यो भने अवश्य पनि त्यो बेला तपाइलाई लाग्नेछ- बीमा गर्नु भन्ने हाम्रो प्रस्ताव सही रहेछ।
जब उमेर सँगै बल, जोस, हिम्मत सकिँदै जान्छ। उमेरले ५० वर्ष पार गर्छ। त्यो बेला पनि यदि तपाईँले बाँच्नको लागी काम गर्नै पर्ने आर्थिक अवस्था रह्यो। बिहान उठेर सकी नसकी काममा जानै पर्ने भयो भने त्यो बेला लाग्नेछ- बल हुँदै, जवानीले परिश्रमको लागि साथ दिएकै बेला अलिअलि जोगाएर अलिकति बीमामा बचत गरेको भए हुने रहेछ। सानोतिनो व्यापार धन्धा गर्ने सम्भावना हुने रहेछ। अनि सम्झनु हुनेछ, अभिकर्ताले त्यो बेला गरेको कुरा जायज नै रहेछ।
कुनै दुर्घटनामा परेर व्हीलचेयरमा अरूको सहारामा रित्तो खल्ती बाहिर भित्र गर्दै गर्दा तपाइको कुर्सी ठेल्ने मान्छेलाई केही पारिश्रमिक दिन सके हुन्थ्यो भन्ने रहर जागेको बेला अवश्य पनि तपाइलाई लाग्ने छ- बीमामा बचत गरेको भए स्थिति अर्कै हुन्थ्यो।
ठुलो रोग लागेर तपाई अस्पतालमा सुतिरहँदा आफन्तजनले तपाइको उपचारको लागी तपाई कै तस्बिर बोकेर दिनभर माग्नुपर्ने अवस्था आयो भने साँझ थाकेको अनुहार लिएर ती आफन्त आउँदा त्यो बेला लाग्नेछ- बेलैमा जोखिम बहन गर्ने खालको बीमा गरेको भए यो दिन देख्नुपर्ने थिएन।
कुनै भवितव्य वा दुर्घटनाको सिकार भएर तपाई कमाउन नसक्ने भएको बेला तपाईँको सेवामा खटिरहेको आफ्नै श्रीमान् वा श्रीमतीले यो भार बोकेर बस्नु भन्दा बरु डिभोर्स गर्छु भन्ने सोचेर पारपाचुकेको पत्रमा हस्ताक्षर गर्न भने भने तपाइलाई लाग्न सक्छ- यदि बेलैमा बीमा मार्फत आर्थिक आधार तयार गरेको भए सम्बन्ध जोगिन्थ्यो कि।
आफैँले जन्माएको बच्चाको शिक्षा र पालन पोषण गर्न कतै आफन्तकोमा गएर हात फैलाउनु पर्ने अवस्था आयो भने सोच्नु हुनेछ- उमेरमा मैले अलिकति सोचेर बच्चाको बीमा गरेको भए।
मानौँ तपाईँ कुनै दुर्घटनामा पर्नु भयो र ज्यानै गयो भने तपाईँमा आश्रित तपाइको छोराछोरी, श्रीमती/श्रीमान् वा बुढा भएका बुबा आमाको पालन पोषणको जिम्मा कसले लेला ? त्यसैले सोच्नुहोस् अहिले नै बीमा गर्दा उनीहरूको लागि आर्थिक आधार तयार भएको हुन्छ।
हो, यस्तै यस्तै धेरै सम्भावित घटना, अवस्था, परिवेश र नियतिको सबै भन्दा भरपर्दो समाधान हो, बीमा। हामी बीमा अभिकर्ताहरु यस्तै सम्भावनाका कुरा गर्छौँ। तपाइको अनिश्चित भविष्यलाई सुखद बनाउने प्रस्ताव लिएर आउँछौँ। हो, हामीले पनि यसलाई नै पेसा बनाएका कारण अवश्य पनि केही लाभ लिन्छौँ। बीमा कम्पनीबाट पाउँछौ। तर, त्यो नगण्य हुन्छ तपैले पाउने लाभको तुलनामा।
म तपाईँले सोचे जस्तो स्वार्थी होइन। तपाइको साथी हुँ। तपाइको भलो चिताउने पात्र हुँ। शुभ चिन्तक हुँ। त्यसैले, म छाती फुलाएर भन्छु- "म बिमा अभिकर्ता हुँ।"
(श्रेष्ठ रिलायबल नेपाल लाइफ इन्योरेन्स लिमिडेट, पाँचखाल शाखा, काभ्रेपलान्चोकका एजेन्सी मेनेजर हुन्। )
प्रतिक्रिया दिनुहोस