aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

बागमती प्रदेशसभामा ३३ राजनीतिक दलको धरौटी जफत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ पुस २०७९
बागमती प्रदेशसभामा ३३ राजनीतिक दलको धरौटी जफत

काठमाडौं । गत मङ्सिर ४ गते प्रदेशसभाका लागि भएको निर्वाचनमा बागमती प्रदेशमा  ३३ राजनीतिक दलको धरौटी जफत भएको छ । उक्त निर्वाचनमा प्रत्यक्षतर्फ ३५ र समानुपातिकतर्फ ४० राजनीतिक दल निर्वाचनमा सहभागी थिए । 

सहभागीमध्ये ३३ राजनीतिक दलको धरौटी जफत भएको निर्वाचन आयोगका सचिव  गोकर्णमणि दवाडीले जानकारी दिनुभयो । प्रदेशसभाको निर्वाचनमा  सहभागी भएका प्रत्यक्षमा पुरुषतर्फ पाँच सय ८८ र महिलातर्फ ८० गरी छ सय ६८ तथा समानुपातिकतर्फ सात सय ५४  उम्मेदवारको बन्दसूची कायम भएको थियो । दश प्रतिशतभन्दा कम मत प्राप्त गरेका चार सय १७ पुरुष र ६७  महिला गरी कूल चार सय ८४ उम्मेदवारको धरौटी जफत भएको छ । 

आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदनअनुसार बागमती प्रदेशमा सात राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेशसभामा प्रतिनिधित्व भएको छ । प्रदेशसभातर्फ पुरुष ७० र महिला ४० जना गरी एक सय १० जना निर्वाचित भएका छन् । 
 
प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि बागमती प्रदेशमा महिला १७ लाख ३३ हजार तीन सय ७८, पुरुष १७ लाख ३८ हजार ८७ र अन्य २७ गरी कूल ३४ लाख ७१ हजार चार सय ९२ मतदाता थिए । सचिव दवाडीले आयोगको प्रतिवेदन आज बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पेश गरेका थिए  ।

प्रतिक्रिया दिनुहोस