aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

नेपाल एयरलाइन्सलाई पहिलो उडानमै १ करोडको झड्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ भदौ २०७६
नेपाल एयरलाइन्सलाई पहिलो उडानमै  १  करोडको झड्का

काठमाडौँ । जापानको ओसाकामा १२ वर्षपछि व्यावसायिक उडान प्रारम्भ गरेको नेपाल वायुसेवा निगमको वाइडबडी ४० जना यात्रु बोकेर बिहीबार साँझ काठमाडौँ फर्किएको छ।

निगमको विमान बिहीबार । बिहान साढे २ बजे १ सय ४६ यात्रु लिएर जापानको ओसाकातर्फ उडेको थियो । जापानले नेपाललाई ओसाका र नारितामा सातामा १४ वटा उडान अनुमति दिएको छ। 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार ३ सय यात्रु क्षमताको वाइडबडी विमानले जापानमा वार्षिक कम्तीमा २ लाख यात्रु एकतर्फी उडान गर्न सक्ने अनुमति नेपालसँग छ। निगमका कार्यकारी अध्यक्ष मदन खरेलले बुधवार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमाआयोजित यात्रु बिदाइ कार्यक्रममा जापानमा वार्षिक ३५ हजार सिट बिक्रीको लक्ष्य राखेको बताए। निगमका सहप्रवक्ता सुलेख मिश्रले पुसदेखि निगमले नारितामा पनि उडान गर्न लागेको बताए ।

ओसाका राजधानी टोकियोदेखि ६ सय किलोमिटर दुरीमा पर्छ यी दुई सहरको सडक यात्रा साढे ७ घण्टा हाराहारी पर्छ। निगमका अनुसार जापानमा कम्तीमा ८० हजार नेपाली रहेको अनुमान छ । यीमध्ये ४५ प्रतिशत हाराहारी टोकियो आसपास र ३० प्रतिशत हाराहारी ओसाका, नागोया, हिरोसिमालगायत सहरमा रहेकाले निगमले पुसदेखि नारिता उडान थाल्ने जनाएको छ।

निगमले काठमाडौँ-ओसाकाका लागि एकतर्फी हवाई भाडा ३७ हजार र दुईतर्फी ७२ हजार तोकेको छ। निगमका लागि जापानका कन्ट्री म्यानेजर सन्तोष पाण्डेका अनुसार निगमले उडान थाल्नुअघि जापान सिधा उडान नभएकाले हङकङ वा बैंकक हुँदै जानुपर्ने बाध्यता थियो । यसरी जाँदा एकतर्फी भाडा ४० देखि ६० हजार तथा दुईतर्फी ८० देखि ९० हजारसम्म पर्छ। विदेशी वायुसेवा कम्पनीले दसैंताका दुईतर्फी भाडा १ लाख रुपैयाँसम्म पऱ्याउने गर्छन् । निगमले दसैंअघि प्रवर्द्धनात्मक भाडादार तोकेको छ।

एक अधिकारीका अनुसार निगमले सुरुवाती चरणमा अत्यधिक घाटा बेहोर्दै जापान उडान थालेको छ । निगमको वाइडबडी उडानमा प्रतिघण्टा साढे १६ लाख रुपैयाँ सञ्चालन खर्च लाग्छ । 

यसअनुसार सात घण्टा हाराहारीको एकतर्फी उडानमा कम्तीमा १ करोड १५ लाख रुपैयाँ सञ्चालन खर्च बेहोर्नुपर्छ । ‘बिहीबार ओसाकाबाट फर्किंदा निगमले प्रतियात्रु ३७ हजार रुपैयाँ दरको टिकटमा ४० जना यात्रुबाट १४ लाख ८० हजार रुपैयाँ मात्रै उठाउँदा १ करोड रुपैयाँ घाटा बेहोर्नुपर्यो,' ती अधिकारीले भने, 'बिहीबार बिहानको पहिलो उडानमा पनि कम्तीमा ७० लाख घाटा बेहोर्नुपयो।’ यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस