
काठमाडौं । राहदानीको आवेदन फाराम अनलाइनबाटै भर्न सकिने सुविधासहित अनलाइन आवेदन सुरु भएको वर्ष नाघेको छ तर २०७८ मङ्सिर १ देखि राहदानी विभागले ल्याएको सुविधा साँच्चिकै अनलाइनका रूपमा कहिल्यै रहेन ।
अनलाइन फाराम भर्ने सुविधा भनेको इन्टरनेटको पहुँचमा रहेको जुनसुकै स्थानबाट जतिबेला पनि फाराम भर्न पाउने व्यवस्था हो तर राहदानी विभागको अनलाइन सुविधा न २४ घण्टा नै उपयोग गर्न पाइन्छ न सबै जिल्लाका लागि एकनासको नै छ । त्यसमाथि प्रतिदिन एक हजार छ सय कोटा तोकिएको छ ।
तोकेको समयमा मात्र अनलाइनको फाराम भर्न सक्ने व्यवस्थाका कारण राहदानी लिन चाहनेले निकै सास्ती भोग्नु पर्यो । त्यसैले जिल्लाबाटै विद्युतीय राहदानी दिने व्यवस्थालाई सहज बनाउन विभागले आफ्नो अनलाइन सुविधाको नीति परिवर्तन गरेको छ । पुस ५ गते मङ्गलबारदेखि लागू हुनेगरी अनलाइन फाराम भर्ने समय बिहान ११ बजेबाट परिवर्तन गरेर अपराह्न साढे ३ बजे बनाएको छ ।
विभागमा भीडका कारण जिल्लाको सेवासमेत प्रभावित हुन थालेकाले विभागले नयाँ नीति अपनाएको हो । जसअनुसार विभागले पहिले जिल्लाहरूले सेवा दिएपछि मात्र आफूले अनलाइन सेवा दिने भएको हो तर नवलपरासी, रुपन्देहीलगायतका केही जिल्लामा भने हप्ताको एक दिन मात्र अनलाइन फाराम खुलाइन्छ ।
एकै पटक सबैतिर अनलाइन फाराम खुल्दा सर्भर डाउन भएपछि दूरदराजका कम समय सेवा दिने जिल्लाका सेवाग्राही मर्कामा पर्ने गरेका थिए । स्रोतसाधन र दक्ष जनशक्तिको अभावमा सबै जिल्लाले सेवा प्रभावकारी बनाउन सकिरहेका छैनन् । त्यसमाथि सर्भरको समस्याले जिल्लाका सेवाग्राही काठमाडौँ आएर विभागको अनलाइन सेवाको भर पर्न बाध्य छन् । अनलाइन सुविधाको विश्वव्यापी मर्मअनुसार विभागले सबैतिर एकैपटक सेवाको समय दिए पनि विभागमै भर्नेहरूको लर्को बढी हुने गरेको छ । अब विभागले अपराह्न मात्र अनलाइन फाराम भर्ने समय दिएकाले विभागभन्दा जिल्लालाई नै प्राथमिकतामा पर्ने अपेक्षा गरिएको विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवले बताउनुभयो । एकातिर विभागमा बढ्दो भीड, अर्कोतिर जिल्लाको सेवामै प्रभाव परेपछि बाध्य भएर अनलाइन फाराम भर्ने समय नै परिवर्तन गर्नु परेको हो ।
दशैँ, तिहार, छठ, आमनिर्वाचनलगायतका विभिन्न अवसरमा भएको सार्वजनिक बिदापछि विभागमा राहदानी बनाउनेको चाप उच्च भएको हो । विभागका अनुसार उच्च चापका कारण अनलाइन फाराम भर्ने विभागको वेबसाइटमै समस्या बढ्न थालेपछि समय परिवर्तन गर्नुपरेको हो ।
प्रतिक्रिया दिनुहोस