
काठमाडौं । झन्डै ८० मिनेट खेल भइसकेको थियो । फ्रान्स २–० ले पछि । अर्जेन्टिना एकपक्षीय रूपमा हावी थियो । उसका समर्थकमा खुसीको सीमा नै थिएन । फ्रान्स लम्किन खोज्दै थियो । तर, मेलोमेसो मिलेको थिएन । त्यही बेला फ्रान्सले पेनाल्टी पायो। अघि सरे, २३ वर्षीय काइलिन एमबाप्पे । बिना कुनै गल्ती उनले गोल गरे। खेललाई रोचक बनाए ।
उनी त्यतिमा मात्रै रोकिएनन् । डेढ मिनेटमै अर्को गोल थप्दै ‘गुमिसकेको’ खेल बराबरीमा ल्याए । अनि, निराश फ्रान्सेली समर्थकमा खुसीको सीमै रहेन । समर्थकमा ‘एमबाप्पे, एमबाप्पे’ भन्ने नारावाजी भयो ।
विश्वकप फाइनलमा विश्वले देख्यो– एमबाप्पेको जादु । उनी नयाँ स्टार बने । कतार विश्वकप फाइनलमा गरेको अद्भुत प्रदर्शनले एमबाप्पेको लोकप्रियता सगरमाथाजस्तै उच्च बन्यो ।
फाइनल खेलको ९० मिनेटमा दुवै पक्ष २–२ मा थिए । खेल अतिरिक्त समयमा गयो । फ्रान्स फेरि एक गोलले पछि पर्यो । त्यही बेला पेनाल्टी पायो। त्यसको भरपुर सदुपयोग गर्दै एमबाप्पेले गोल गरे । खेल ३–३ को बराबरी स्थितिमा आयो । त्यसपछि खेल टाइब्रेकरमा गयो । एमबाप्पेले गोल गरे। तर, फ्रान्सका किङ्सले कोम्यान र औरेलियन तचौमेनीले पेनाल्टीमा गोल गर्न सकेनन् । खेल जित्यो, अर्जेन्टिनाले, मन जिते एमबाप्पेले ।
एमबाप्पे ५६ वर्षपछि विश्वकप फाइनलमा ह्याट्रिक गर्ने खेलाडी पनि बन्न पुगे । उनले दुई पेनाल्टीसहित ह्याट्रिक गरे । सन् १९६६ मा इङ्ल्यान्डका जियोफ हस्र्टले विश्वकप फाइनलमा ह्याट्रिक गरेका थिए । त्यस बेला हस्र्टकै ह्याट्रिकको मदतमा इङ्ल्यान्डले पश्चिम जर्मनीलाई ४–२ ले पराजित गर्दै उपाधि जितेको थियो । कतार विश्वकपमा एमबाप्पेभन्दा अघि पोर्चुगलका गोन्कालो रामोसले ह्याट्रिक गरेका थिए । उनले स्विट्जरल्यान्डविरुद्धको अन्तिम १६ को खेलमा ह्याट्रिक गरेका हुन् ।
एमबाप्पेले कतार विश्वकपमा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुटको अवार्ड पनि जिते । उनले आठ गोल गरे भने दुई गोलका लागि अवसर सिर्जना गरे । समूह चरणमा अस्ट्रेलियाविरुद्ध एक गोल र एक असिस्ट गरेका थिए । यस्तै डेनमार्कविरुद्ध दुई, पोल्यान्डविरुद्ध दुई गोल र एक असिस्ट एवं फाइनलमा अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गरेका थिए । सन् २००२ पछि एउटै विश्वकपमा सर्वाधिक गोल एमबाप्पेले कतार विश्वकपमा गरेका हुन् । सन् २००२ मा ब्राजिलका रोनाल्डोले पनि आठ गोल गरेका थिए ।
अभूतपूर्व ड्रिब्लिङ क्षमता, असाधारण गति र उत्कृष्ट फिनिसिङले एमबाप्पेले विश्वकपमा विपक्षीलाई आच्छुआच्छु पारे । उनी पोल्यान्डविरुद्धको खेलमा ३५.३ किलोमिटर प्रतिघण्टाको गतिमा दौडिएका थिए । जुन विश्वकप फुटबलमा अहिलेसम्मकै तीव्र गतिको कीर्तिमान हो ।
उनले गोल गर्ने मामिलामा पनि पेले र क्रिस्टियानो रोनाल्डोलाई पछि पारे । रोनाल्डोले विश्वकपमा २० खेल खेल्दै आठ गोल गरे । एमबाप्पेले १४ खेलमा १२ गोल गरेका छन् । उनले ब्राजिलका दिग्गज खेलाडी पेलेलाई भने पछि पारिसकेका छन् । पेलेले पनि विश्वकपमा १२ गोल नै गरेका छन् । २३ वर्षको उमेरमा सर्वाधिक गोल गर्ने पेलेको ६० वर्ष पुरानो कीर्तिमानलाई पनि उनले तोडेका छन् ।
अर्जेन्टिनाका कप्तान लियोनल मेसी एमबाप्पेभन्दा एक गोलले अगाडि छन् । तर, उनले पाँच विश्वकपको २४ खेलमा १३ गोल गरेका हुन् । एमबाप्पेले भने दुई विश्वकपका १४ खेलमा १२ गोल गरेका हुन् । विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी जर्मनीका मिरोस्लाभ क्लोज हुन् । उनको नाममा १६ गोलको रेकर्ड छ । ब्राजिलका रोनाल्डोले १५, जर्मनीका गड मुलर १४, फ्रान्सका जस्ट फोन्टेन र अर्जेन्टिनाका मेसीले १३ गोल गरेका छन् ।
प्रतिक्रिया दिनुहोस