aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

औद्योगिक फोहोर अनुगमनमा वीरगन्ज महानगर सक्रिय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ पुस २०७९
औद्योगिक फोहोर अनुगमनमा वीरगन्ज महानगर सक्रिय

वीरगन्ज। वीरगन्जको मरियम लेदर उद्योगले सोझै सिर्सिया नदीमा फोहोर तथा फोहोर पानी फाल्ने गरेको भेटिएको छ । सिर्सिया नदी क्षेत्रमा रहेका उद्योगहरूको अनुगमन गर्न गठित सिर्सिया नदी प्रदूषण नियन्त्रण समितिले मङ्गलवार अनुगमनका क्रममा यस्तो फेला पारेको हो । 

उद्योगले छालाबाट निस्केको फोहोर पदार्थका साथै उद्योग सञ्चालन गर्दा निस्केका केमिकलयुक्त दुर्गन्धित फोहोर पानी सोझै सिर्सिया नदीमा फाल्ने गरेको भेटिएको अनुगमन टोलीमा रहेका पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए । 

उद्योगबाट निस्केको फोहोर पानी प्रशोधन गरेर मात्रै नदीमा मिसाउनु पर्ने कानुनी व्यवस्था भए पनि यहाँका अधिकांश उद्योगहरूले सोझै दुर्गन्धित पानी नदीमा फाल्दै आएका छन् । 

मरियम लेदर उद्योगमा पनि पानी प्रशोधन केन्द्र नभेटिएको महानगरका वातावरण निरीक्षक प्रदीप साहले बताए । अनुगमन टोलीले बुधवार मरिअमसहित नारायणी लेदर र निम्बसको पनि अनुगमन गरेको छ ।

अनुगमन गरेकामध्ये नारायणी लेदरले पनि फोहोर पानी प्रशोधन गरेर फाल्ने गरेको भेटिएको महानगरका वातावरण निरीक्षक साहले बताए । त्यस्तै निम्बस उद्योगको उत्पादन अहिले बन्द रहेकाले त्यहाँबाट पानी निकासा नभेटेको पनि उनले बताए । निम्बसले पानी प्रशोधन केन्द्र भने बनाएको छ । 

नदी आसपासमा कम्तीमा पनि एक सयभन्दा बढी उद्योगहरू रहेको र ती उद्योगले जथाभाबी फोहोर पानी फाल्दा अहिले सिर्सिया दुर्गन्धित बनेको छ । 

महानगरका उपमेयर इम्तियाज आलमको संयोजकत्वमा रहेको टोलीले पहिलो चरणमा अनुगमनलाई निरन्तरता दिएको हो । ‘पहिलो चरणमा अनुगमन र सचेत गर्ने काम गर्दै हिँडेका छौँ,’ उपमेयर आलमले भने, ‘यति गर्दा पनि नदी प्रदूषण नियन्त्रण नभए फोहोर पानी नदीमा फाल्ने उद्योगलाई हामी कारबाही गर्छौँ ।’ 

निर्वाचनमा सिर्सिया नदी प्रदूषण नियन्त्रण गर्दै स्वच्छ बनाउने प्रतिबद्धता जनाएका महानरका मेयर राजेशमान सिंहले निर्वाचनका बेला सिर्सिया नदी प्रदूषण नियन्त्रण गर्दै स्वच्छ बनाउने प्रतिबद्धता जनाएका थिए । त्यही अनुरूप नदीमा भइरहेको प्रदूषण नियन्त्रण गर्दै स्वच्छ बनाउन पहिलो चरणमा अनुगमन अघि बढाइएको उनले बताए । 

मङ्गलवार उद्योगको अनुगमन गर्न गएको टोलीमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी पौडेल, महानगरको वातावरण शाखा प्रमुख देवेन्द्र चौधरी, प्रहरी निरीक्षक दावा तेन्जी शेर्पा, वीरगन्ज उद्योग वाणिज्य सङ्घका अनिल कुमार अग्रवाल लगायतको सहभागिता रहेको थियो । 

 

प्रतिक्रिया दिनुहोस