काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेंगु नियन्त्रणका लागि सेना, प्रहरीसम्म परिचालन गर्न सकिने सङ्केत दिएका छन्। डेंगु नियन्त्रण गर्न सबैको सहभागितामा अभियान चलाउनुपर्ने उनले बताए।
स्वास्थ्य मन्त्रालयद्वारा बिहीबार आयोजित अन्तक्रियामा उनले भने, ‘आवश्यक परे प्रहरी-सेना सबै मिलेर डेंगलाई परास्त गर्नुपर्छ । खेत, बारी, गमला आदिमा झुल लगाउन सकिँदैन त्यसैले डेंगुका लार्भा नष्ट गर्न जनचेतना फैलाउनुपर्छ ।'
स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले यसअघि पनि व्यापक रूपमा डेंगु देखिएपछि सेना परिचालन गरिएको बताए । देशैभरि डेंगु फैलाउने लामखुट्टे पुगेको उनले जानकारी दिए। स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले डेंगुको लार्भा खोजेर नष्ट नगरेसम्म यो समस्या समाधान गर्न नसकिने बताए ।
स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले आमव्यक्तिसँगै राज्यका सबै निकाय मिलेर मात्रै यसलाई नियन्त्रण गर्न सकिने बताइन् । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का भेक्छरवोर्न डिजिज कन्ट्रोल सेक्सनका प्रमुख घनश्याम पोखरेलले घरमा रहेका डेंगुका लार्भा र प्युपा नष्ट नगर्नेलाई दण्डित गर्न कानुन आवश्यक रहेको बताए। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस