
काठमाडौं । संसदीय दलको नेता चयन गरेसँगै नेपाली कांग्रेससहित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरूको ध्यान नयाँ सरकार गठनमा केन्द्रित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाबी गर्न दिएको सात दिनको म्यादभित्र नयाँ सरकार गठनका लागि प्रमुख दलहरूले गृहकार्य सुरु गरेका हुन् ।
प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल कांग्रेसले संसदीय दलको नेता चयन गरेपछि मात्र नयाँ सरकार गठनसहित सत्ता गठबन्धनका विषयमा छलफल थाल्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेको थियो । सत्ता साझेदारीसहितका विषयमा माओवादी केन्द्रले कांग्रेससँग एक साताअघि नै छलफल गर्न चाहेको थियो । तर प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी संसदीय दलको नेता चयनसम्म कुर्न दाहाललाई आग्रह गरेका थिए ।
कांग्रेससमेतको समर्थनमा नयाँ सरकारको नेतृत्वको चाहना माओवादी अध्यक्ष दाहालले राखेका छन् । प्रतिनिधिसभामा सबैभन्दा ठुलो दलको हैसियतमा देउवा पनि अब बन्ने नयाँ सरकारको नेतृत्व आफैंले गर्न चाहन्छन् । देउवाले बुधबार आफू संसदीय दलको नेतामा निर्वाचित भएलगत्तै नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् ।
स्वास्थ्यमा समस्या आएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका नेपालसँग देउवाले भेट गरेका हुन् । नेपाललाई भेट्न देउवा अस्पताल पुग्दा माओवादी केन्द्रका अध्यक्ष दाहाल पनि त्यहीँ पुगेका थिए । तीन दलका शीर्ष नेताहरूबीच अस्पतालमा भएको भेटमा नयाँ सरकार गठन, सत्ता साझेदारी र शक्ति बाँडफाँटको विषयले पनि प्रवेश पाएको स्रोतको दाबी छ ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाबी गर्न दिएको सात दिनको समयसीमा १० गते सकिने भएकाले सकेसम्म त्यसअघि नै संघसहित प्रदेश सरकारहरूको नेतृत्व भागबन्डा मिलाउनुपर्ने पक्षमा माओवादी छ ।
सरकारको नेतृत्वसँगै नयाँ राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखसहितका पदहरू पनि बाँडफाँटको पक्षमा माओवादी छ । तर कांग्रेस तत्काल नयाँ सरकारको नेतृत्वसहित मन्त्रिपरिषद् टुंगो लगाएर अन्य विषयमा समझदारी गर्दै जाने पक्षमा देखिएको छ ।
प्रतिक्रिया दिनुहोस