aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

रोजिन निर्यात घट्यो

  • रासस
    रासस
  • शुक्रबार, १३ भदौ २०७६
रोजिन निर्यात घट्यो

काठमाडौं । रोजिन र टर्पेन्टाईन तेलको बजार भाउ घट्दै गएपछि यहाँ सञ्चालित रोजिन र टर्पेन्टाइन उद्योग सङ्कटमा परेका छन् । बजार भाउ घट्न थालेपछि र लागत खर्च बढ्न थालेपछि यहाँका आधा दर्जन उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । लागत बढ्न थालेपछि उद्योगमा ताला लगाउनुपर्ने अवस्था आएको सञ्चालक बताउँछन् । 

    खर्च धान्नै मुस्किल भएपछि जिल्लामा पहिलो पटक २०५० सालमा स्थापना भएको खनाल रोजिन एण्ड टर्पेन्टाइन उद्योग बन्द गर्न लागेको सञ्चालक दिवाकर खनालले बताए । “खर्च धान्न मुस्किल छ, तीन वर्षदेखि घाटामा चलिरहेको छ, घाटामा कति दिनसम्म चलाउनु ? अब बन्द गर्नुको विकल्प नै छैन”, सञ्चालक खनालले भने । एक हजार ५०० मेट्रिक टन रोजिन उत्पादन क्षमता रहेको उद्योगमा तीन सय बढि कामदार कार्यरत छन् । 

    बचेको पुरानो कच्चा पदार्थको काम सकेपछि उद्योग पूर्णरुपमा बन्द गर्ने बताउँदै सञ्चालक खनालले उद्योग बन्द भएपछि कार्यरत कर्मचारीलाई बिदाइ गरिएको पत्र श्रम कार्यालयमा पठाइने बताए । बाँकेमा खनालबाहेक, बङ्गलामुखी, मनकामना, गङ्गा, लक्ष्मी रोजिन उद्योग सञ्चालनमा छन् । लक्ष्मी धेरै पहिले बन्द भएर अरुले नै खरीद गरी सञ्चालनमा ल्याएका थिए । यी उद्योगमा झण्डै  एक अर्ब रुपैयाँ लगानी रहेको छ । 

    एउटा उद्योगमा न्यूनतम पाँच करोड रुपैयाँदेखि अधिकतम २५ करोड रुपैयाँसम्म लगानी भएको छ । हाल सञ्चालनमा रहेका सबै उद्योग करीब बन्द अवस्थामा रहेका खनालले जानकारी दिए । उनले भने, “पुरानो कच्चा सामान सक्ने काम भइरहेको छ, अरु उद्योगले पनि नयाँ कच्चा पदार्थ ल्याउन छोडिसके, उद्योग बन्दकै अवस्थामा छ ।” रोजिन एण्ड टर्पेन्टाइन नेपालगञ्ज भञ्सार नाकाबाट निर्यात हुने प्रमुख वस्तुमा पर्छ । 

    उद्योग बन्द हुने परिस्थिति बन्नुमा रोजिनप्रति स्वदेशमा अस्पष्ट नीति र रोजिनको प्रमुख बजार भारतमा तथा यसको मूल्य घट्नु हो । विभिन्न औषधि बनाउन प्रयोग हुने भएकाले भारतमा रोजिनको माग धेरै छ । तीन तहका सरकारलाई वितरण गर्ने गरी कच्चा पदार्थको रोयल्टी बुझाउनुपर्दा महँगो हुन गएको उद्योगी बताउँछन् । सरकारले सहुलियत नदिएपछि उद्योगमा ताल्चा लगाउनुपर्ने बाध्यता आएको उद्योगीको भनाइ छ ।

    सञ्चालक खनालले भने, “रोयल्टी बढ्यो, कच्चा पदार्थ ल्याउन लैजान छुटपुर्जीका नाममा अनेक झण्झट हुन थाल्यो, बैंकको ब्याज बढ्यो, यहीबेला भारतमा भाउ घटेको छ, यसरी घाटा ब्यहोरेर उद्योग चलाउनै मुस्किल भएको छ ।” तीन वर्षअघि प्रतिकिलो ७२ रुपैयाँ सम्ममा बिक्री भइरहेको रोजिनको मूल्य त्यसयता ६०  रुपैयाँमा झरेको छ । उक्त मूल्यमा बिक्री गर्दा लागत नै नउठ्ने उद्योगीको भनाइ छ । 

    रोजिनको कच्चा पदार्थ पहाडमा पाइने सल्लाको खोटो हो । सामुदायिक वनबाट उपलब्ध हुने त्यस्तो खोटो सङ्कलनबाट पहाडमा समेत थुप्रै रोजगारी सिर्जना भएको छ । रोजिन उद्योग बन्द हुँदा त्यहाँ कार्यरत झण्डै दुई हजार मजदूरको रोजगारी सङ्कटमा परेको छ । नेपालगञ्ज भन्सार नाकाबाट निर्यात हुने प्रमुख वस्तु रोजिनले चामल उद्योगकै हविगत ब्यहोरेको छ । नेपालगञ्ज नाका भएर कुनै बेला बङ्गलादेशसम्म चामल निर्यात गरिन्थ्यो । 

    त्यसका लागि जिल्लामा दर्जनौँ चामल उद्योग चौबिसैँ घण्टा चल्थे । बदलिएको समयसँगै अहिले वार्षिक अर्बौंको चामल भारतबाट आयात भइरहेको छ । गत आर्थिक वर्षमा मात्र नेपालगञ्ज नाका हुँदै रु साढे छ अर्बको चामल आयात भएको थियो । लामो समय रोजिन उद्योगमा बिताएका खनालले सरकारको अस्पष्ट नीतिका कारण रोजिनजस्तै अन्य उत्पादनमूलक उद्योग बन्द भएका बताए । 

    भारततर्फ वार्षिकरुपमा ७५ करोड रुपैयाँसम्मको रोजिन निर्यात हुँदै आएकामा दुई वर्षयता घटेर ५० करोड रुपैयाँमा झरेको छ । आव २०७५÷०७६ मा नेपालगञ्ज नाकाबाट ५० करोड ८५ लाख रुपैयाँ मूल्यको चार हजार ७६६ मेट्रिक टन रोजिन÷खोटो निर्यात भएको थियो । सोही अवधिमा १६ करोड रुपैयाँको तार्पिन तेल निर्यात भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ । 

    पछिल्ला वर्षमा रोजिनको निर्यात पनि घट्दै गएको देखिन्छ । त्यसअघि आव २०७४÷०७५ मा ५४ करोड ९२ लाख रुपैयाँ मूल्यको चार हजार ७०० मेट्रिक टनकै हाराहारीमा निर्यात भएको थियो । आव २०७३÷०७४ मा रु ७३ करोड र आर्थिक वर्ष २०७२÷०७३ मा ७४ करोड रुपैयाँ मूल्य बराबरको रोजिन नेपालगञ्ज नाकाबाट भारततर्फ निर्यात भएको भन्सार कार्यालयको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस