
काठमाडौँ । पर्वतको बाछाका विनोद अधिकारी रोजगारीका लागि मलेसिया गएको आठ वर्ष भयो । गएको तीन वर्षसम्म परिवारको नियमित सम्पर्कमा रहेका, त्यसपछि सम्पर्कविहीन भएको र अहिलेसम्म केही जानकारी नआएको उनका दाजु नरेश अधिकारीले बताए ।
नरेश अधिकारीका अनुसार विनोदले मलेसियाको पाँचतारे होटलमा काम गर्ने भएकाले कमाइ राम्रै थियो । उनले तीन वर्षसम्म मासिक ५० हजार रुपियाँका दरले पैसा पठाएका थिए । दाजु नरेश अधिकारीले भने, “भाइको खोजीका लागि श्रम मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, वैदेशिक रोजगार विभाग, दूतावास धेरैतिर हारगुहार गरियो तर अहिलेसम्म केही खबर पाएका छैनौँ ।”
विनोदजस्तै वैदेशिक रोजगारीकै सिलसिलामा परिवारको सम्पर्कविहीन भएका नेपाली युवाको सङ्ख्या धेरै छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भर्खर सार्वजनिक गरेको ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२’ अनुसार गएको तीन वर्षमा वैदेशिक रोजगारीमा गएकामध्ये ३१ जना महिलासहित ४१० नेपाली श्रमिक विदेशमै बेपत्ता भएका छन् । यो सङ्ख्या आव २०७६/७७ देखि २०७८/७९ सम्म श्रम स्वीकृति लिएर विदेशिएका मध्येको हो ।
सो अवधिमा सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स (यूएई)मा २५४ हराएका छन् भने मलेसियामा १०५ जना हराएका छन् । यसैगरी कुवेतमा ४८ जना, साउदी अरबमा दुई जना र ओमानमा एक जना हराएको सो प्रतिवेदनमा उल्लेख छ ।
वैदेशिक रोजगारी क्षेत्रका जानकार रामेश्वर नेपालले स्वदेशमा केही नपाएर वैदेशिक रोजगारीमा गएको नागरिक विदेशमा हराउनु विषय दुःखद भएकाले यसमा सरकार र सरोकारवाला निकाय गम्भीर हुनुपर्ने आवश्यकता औँल्याए । रोजगारीका लागि गएका यति ठूलो सङ्ख्या हराउनु वा बेपत्ता हुनु सामान्य नभएको धारणा व्यक्त गर्दै उनले भने, “ती नागरिक के कारणले हराए, कस्तो अवस्थामा छन् ? खोजी हुनुपर्छ ।”
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले रोजगारी गरेर आयआर्जन गर्ने उद्देश्यले गएका युवा विदेशमा हराउनु सामान्य नभएको बताए । हराएका नागरिकको खोजीका लागि दूतावासमा रहेका श्रम मन्त्रालयअन्तर्गतका श्रम सहचारी र काउन्सिलरमार्फत काम भइरहेको उनको भनाइ छ ।
मन्त्रालयका अनुसार विदेशमा हराउनेमा धेरैजसो अनियमित भएर बसेका, भ्रमण भिसामा गएका नागरिक रहेको पाइएको छ । जसरी गएर हराए पनि नेपाली नागरिक हराएपछि खोजी गर्ने दायित्व राज्यको हुने हुनाले खोजी कार्यमा कुनै कमी नगर्न सम्बन्धित देशका दूतावासका कर्मचारीलाई निर्देशन भएको श्रम सचिव अर्यालले जानकारी दिए ।
यस अवधिमा वैदेशिक रोजगारीका लागि ११ लाख ६५ हजार १५१ जना नेपाली नयाँ तथा पुनः श्रम स्वीकृति लिएर विदेशिएका छन् । प्रतिवेदनअनुसार आव २०७६/७७ मा २८ हजार ४२९ महिलासहित तीन लाख ६८ हजार ३७३ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् ।
प्रतिक्रिया दिनुहोस