aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

'नेपालको एयरपोर्टबाट हात्ती छिराउने' चार्ल्स शोभराजलाई शुभकामना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ पुस २०७९
'नेपालको एयरपोर्टबाट हात्ती छिराउने' चार्ल्स शोभराजलाई शुभकामना

काठमाडौँ। "नेपालको एयरपोर्टबाट हात्ती पनि छिराउन सक्छु" भन्ने ठाडो चुनौतीयुक्त भाषा बोल्ने कुख्यात अपराधी हुन्,चार्ल्स शोभराज (गुरुमुख)। कामले नसके पनि बोलीले छिराए उनले हात्ती कुनै बेला। जसले धेरै चर्चा पायो। नेपालको हवाई सुरक्षा प्रणालीबारे उनको त्यो भनाइले गम्भीर प्रश्न उठाएको थियो। 

'बिकिनी किलर'को नामले चिनिने उनी १९ वर्ष लामो जेल जीवन पुरा गर्दै सर्वोच्च अदालतको बुधवार र काठमाडौं र भक्तपुर अदालतको बिहीबारको आदेश बमोजिम शोभराज शुक्रबार कारागारबाट मुक्त हुने भएका छन्। 

बुधवार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले दिएको आदेशपछि उनको जेलमुक्त हुने बाटो खुलेको थियो । लामो समयको जेल जीवन पछाडि उनी निस्कदैछन् भन्ने कुराले उनको बाँकी जिन्दगीको बारेमा धेरैलाई खुल्दुली लागिरहेको छ। 

एउटा भनाई यहाँ दोहोर्‍याउन उपयुक्त हुन्छ- "मर्द भएपछि सके रहरलाग्दो या भरलाग्दो हुनुपर्छ। डरलाग्दो हुँदा पनि हुन्छ तर, घिनलाग्दो हुनु हुँदैन"। तर, कुख्यात अपराधी चार्ल्स शोभराज भयङ्कर डरलाग्दा बने सार संसारको लागि। उनका अपराध दानवीय र घिनलाग्दा देखिए। प्रमाणित भए। 

उनले नेपालमा गरेको अपराधको सजाय भुक्तान गरे पनि भारत लगायत विभिन्न देशको अपराधको लागि फेरि पनि लुक्नु, छक्काउनु पर्ने हुन्छ। या, बाँकी जिन्दगी जेलमै बिताउनुपर्ने वा न्यायाधीशले कलमको निभ भाँचेपछि झुन्डिनुपर्ने हुन्छ। यो उनको सम्भावित नियति हो।  

"मान्छे" पात्र यस "धर्ती" नामको रङ्गमञ्चमा आएपछि विभिन्न भूमिका निभाउनुपर्ने हुन्छ। अपराधी चरित्र बाहेकका अन्य धेरै 'क्यारेक्टर' गज्जबका छन्, उनका। नेपालको केन्द्रीय जेलको गोलघरमा बस्दा उनी सधैँ चुपचाप बसे। उनी नेपाली भाषा पढ्न र बोल्न सक्छन् तर त्यसलाई बाहिर देखाएनन्। नेपाली कानुनका आफूलाई आवश्यक पर्ने दफा, उपदफा, धारा, उपधारा कण्ठस्थ पारे, छिद्र छिद्र उधिने। जेलभित्रै आफ्नै नेपाली कानुन व्यवसायीको छोरीसँग बिहे गरे। उनले जेलबाट निस्कन अजीव अजीवका गोटी चाले। तर, कानुनले छोड्ने पर्ने बेला भएपछि उनको याचना अदालतले सुन्यो। उनी छुटे। 

त्यसो त 'मै हुँ'भन्ने भारतीय, थाई लगायतका विश्वका धेरै पुलिसलाई चक्मा दिएर भाग्न सफल उनलाई नेपाल प्रहरीले पक्रनु तारिफयोग्य काम थियो। भारतको तिहाड जेल जस्तोबाट जन्मदिनको बहानामा भोज आयोजना गरी लड्डुमा बेहोस हुने औषधि मिसाएर, सबैलाई सुताएर भागे।  भलै उनी लगत्तै गोवाको क्यासिनोबाट फेरी पक्राउ परेका थिए। उनले गरेका अपराध समेटेर चार्ल्सको फिल्म नै बनाएका छन्, भारतीयले।

चार्ल्सको ज्ञान, चतुरता, धैर्यता, सिक्ने कला आदि हेर्ने हो भने यस्तो लाग्छ उनी अपराधको दुनियाँमा नछिरेर राजनीति, व्यवसायी या अन्य पेसामा लागेको भए गज्जबका व्यक्ति हुन्थे होलान्। जब ट्यालेन्ट मान्छे बिग्रन्छ, ध्वस्तै हुने गरेर बिग्रन्छ। यसैको उदाहरण हुन्, उनी। 

अब कामना गरौँ वयोवृद्ध भइसकेका उनको बाँकी जिन्दगी फेरि "अपराधी चरित्र" मा नबितोस् । अब खुल्ला आकाशमुनि आम र सामान्य नागरिक भएर उनी जिउन्। दुनियाँमा साधारण जिन्दगी साधारण तरिकाले जिउनुमा जत्तिको असाधारण खुसी अरू केहीमा छैन भन्ने अनुभूत गरेर मात्र उनको इहलीला समाप्त होस् । शुभकामना !!! (नवीन अधिकारीको फेसबुकबाट) 

प्रतिक्रिया दिनुहोस