aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार सजग छः मन्त्री बडू

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ पुस २०७९
आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार सजग छः मन्त्री बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडूले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार सजग रहेको बताएका छन् । उद्योग वाणिज्य सङ्घ सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको छैटौँ सिन्धुली महोत्सवको आज उद्घाटन गर्दै उनले मुलुकको अस्वस्थ अर्थतन्त्र सुधारका लागि  सरकारले विशेष योजना अघि सारेको बताएका हुन् । 

उनले उद्योगहरुको उत्पादन बढाउनका लागि निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए । आर्थिक नीति र मौद्रिक नीतिमा सुधारका लागि क्षमता अनुसार काम गर्ने उनको भनाइ छ । चालु आवको बजेटमार्फत् राष्ट्रिय उत्पादन र उपभोग बढाउने नीति लिइएको र सोही अन्तर्गत नेपाली उत्पादन र उपभोग कार्यक्रम १० वर्षे अभियान सुरु भएको उनले जानकारी दिए । उनले यस वर्ष ३० वटा औद्योगिक ग्राम स्थापना हुने बताए । 

ग्रामीण तहदेखि नै उद्योग स्थापना, रोजगारी सिर्जना गरी युवालाई उद्यमशीलतामा नजोड्ने हो भने अर्थतन्त्रमा सुधार आउन नसक्ने उनको भनाइ छ । “हातमा सीप हुनेहरुलाई उद्यमशिलताका रु पाँच लाखदेखि २५ लाखसम्म विउ पुँजी दिइनेछ”, उनले भने, “युवा र महिलालाई उद्यम सुरु गर्नका लागि सरकारले बिउ पुँजी दिने गरी विषेश कार्यक्रम सञ्चालनको तयारी भइरहेको छ ,”  

उद्यमशिलता र उद्योगको स्थापना सरकारको मुख्य लक्ष्य रहेको उनको भनाइ छ । उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको भन्दै यसका लागि सरकारले आवश्यक पहल गर्ने बताए । जिल्लामा आयोजना हुने महोत्सवले यहाँको उत्पादनको प्रचार र बजारीकरणका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । महोत्सवबाट हुने आम्दानीले दमकल खरिद गर्ने योजनाको स्वागत गर्दै सङ्घीय सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । 
 

प्रतिक्रिया दिनुहोस