
काठमाडौं । ठुलो दल नेपाली कांग्रेसले सरकार गठनका लागि आन्तरिक तयारी गरिरहेका बेला सहयात्री अर्को दल माओवादी केन्द्र भने प्रधानमन्त्री पद नपाए वर्तमान सत्ता गठबन्धन तोड्न तयार देखिएको छ । नयाँ बन्ने सरकारको नेतृत्व पहिलो अढाइ वर्ष पुष्पकमल दाहालले गर्ने भनी निर्वाचनअघि नै मौखिक सहमति भएको र सहमति कार्यान्वयन गर्न कांग्रेसले आनाकानी गरे गठबन्धन टुट्ने संकेत माओवादी नेताले दिएका हुन् । ‘पहिलो प्राथमिकता गठबन्धनबाटै प्रधानमन्त्री हुने हो तर कांग्रेसले आनाकानी गरे विकल्प खोज्नुपर्ने बाध्यता हुनेछ,’ माओवादीका एक पदाधिकारीले भने । ती पदाधिकारीका अनुसार बिहीबार र शुक्रबार यसै विषयमा घनीभूत छलफल भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले बिहीबार साँझ नयाँ बन्ने सरकारको सुरुको आधा कार्यकाल आफूले नेतृत्व गर्न पाउनुपर्ने भन्दै कांग्रेस सभापति देउवालाई यसअघिको मौखिक सहमति कार्यान्वयन गर्न आग्रह गरेका थिए । तर शुक्रबारसम्म कांग्रेसले यसबारे माओवादीलाई कुनै जवाफ दिएको छैन । वर्तमान सत्ता गठबन्धनबाट माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले समेत आफूलाई सघाउने माओवादीको दाबी छ । तर कांग्रेसले राष्ट्रपतिसहित सुरुमा प्रधानमन्त्री बन्न पाउनुपर्ने दाबी छाडेको छैन ।
सरकार गठनका लागि गृहकार्य र संवाद भइरहेका बेला एमाले नेतृत्वले माओवादी सत्ता गठबन्धन तोडेर आए ऊसँग सहकार्य गरी सरकार गठन गर्न सकिने सन्देश दिएको छ । एमाले महासचिव शंकर पोखरेलले पनि शुक्रबार वामपन्थीहरू एकै ठाउँमा उभिनुपर्ने बेला आएको बताएका छन् । सुर्खेतमा आयोजित एक कार्यक्रममा उनले वामपन्थी शक्तिहरू एकजुट हुनुपर्ने बताउँदै माओवादीले गठबन्धन तोडे आफूहरू छलफल गर्न तयार रहेको बताए । ‘अहिले मुलुकमा राजनीतिक अस्थिरता र अराजकता बढ्दै गएको छ । मुलुकलाई बलियो राष्ट्रिय शक्ति आवश्यक छ । वर्तमान सत्ता गठबन्धनको कुनै लक्ष्य छैन । त्यसैले वामपन्थीहरू एक ठाउँमा उभिनुपर्छ,’ पोखरेलले भने । एमाले र माओवादी मिलेर सरकार बनाउने चर्चा चलिरहेका बेला महासचिव पोखरेलले वामपन्थी एकजुट हुनुपर्ने धारणा राखेपछि राजनीतिक वृत्त झनै तरंगित बनेको छ ।
प्रतिक्रिया दिनुहोस