aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

रेमिट्यान्सका सामु विदेशमा नेपालीको मृत्युको समाचार छायाँमा

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • आइतबार, १० पुस २०७९
रेमिट्यान्सका सामु विदेशमा नेपालीको मृत्युको समाचार छायाँमा

काठमाडौं । अखबारहरूमा वैदेशिक रोजगारी र रेमिट्यान्सका समाचार दिनहुँजसो छापिन्छन् । योसँगसँगै वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले स्वदेश र विदेशमा भोग्नुपरेका समस्याबारे पनि समाचार छापिन्छन् । हरेक दिन सरदर तीनजना नेपाली कामदारको लाश आउने गरेको समाचार पनि नयाँ होइन, पुरानै हो । तर यो क्रम रोकिने छाँटकाँट फिटिक्कै छैन । अझ उल्लेख्य कुरा के हो भने रेमिट्यान्स आप्रवाह बढेको समाचारसामु नेपाली कामदारले भोग्नुपरेका समस्या र नेपाली कामदारको मृत्युको समाचार ओझेल पर्ने गरेको छ अथवा पार्ने गरिएको छ । विश्वविद्यालयबाट निस्कने जनशक्ति विदेशमा गएर बेल्चा र गैँती चलाउने र जेलबाट निस्कने नेताले चाहिँ देश चलाउने विडम्बनाको अन्त्य कहिले होला ?

देशमै रोजगारी सिर्जना गरेर बेरोजगारी समस्या हल गर्ने, उत्पादन वृद्धि गरेर निर्यात प्रवद्र्धन गरी व्यापार घाटा न्यूनीकरण गर्ने र अर्थतन्त्रमा विद्यमान जोखिम कम गर्ने सोच अझै बनिसकेको छैन सरकारमा बस्नेहरूमा र जिम्मेवार राजनीतिक दलहरूमा पनि । यसैको परिणति हो वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्यामा वृद्धि र रेमिट्यान्स आप्रवाहमा भइरहेको वृद्धि । चालु आर्थिक वर्षको चार महिनामा २ लाख ६४ हजार नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन् भने यो अवधिमा रु। ३ खर्ब ७८ अर्ब रेमिट्यान्स आप्रवाह भएको छ ।

रेमिट्यान्स आप्रवाह वृद्धि हुँदा खुसी हुने कि दुःखी ? यो प्रश्नको जवाफ खोज्नुअघि हामीले रेमिट्यान्स भरपर्दो आर्थिक स्रोत हो कि होइन र यसले नेपाली अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँछ कि परनिर्भर भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने हुन्छ । अर्थविद्हरूले रेमिट्यान्स भरपर्दो आर्थिक स्रोत होइन, यसले देशको अर्थतन्त्रलाई परनिर्भर बनाउँछ भनिरहेका छन् । देशलाई दिनरप्रतिदिन परनिर्भर बनाउँदै गरेको रेमिट्यान्स आप्रवाह वृद्धि हुँदा पनि खुसी हुनुपर्ने परिस्थिति एउटा महान् विडम्बना नै हो ।  

रेमिट्यान्स वृद्धि हुँदा अर्थतन्त्र परनिर्भर भयो र जोखिममा पर्‍यो भनेर टाउको समाउनुपर्ने हो । तर शासकहरूमा यो चेत अझै खुलेको छैन । त्यसैले उनीहरू रेमिट्यान्स आप्रवाह बढेको समाचारले पुलकित हुन्छन् र ढुक्कको सास फेर्छन् । तर रेमिट्यान्सको विकल्प खोज्ने काममा उनीहरू टाउको दुखाउनै चाहँदैनन् । बरु सजिलै भनिदिन्छन् रेमिट्यान्सले देशको अर्थतन्त्र धानेको छ भनेर । शासकहरू लबस्तरा हुनुको परिणति हो वैदेशिक रोजगारीमा जाने कामदारको संख्या र रेमिट्यान्स आप्रवाहमा भएको वृद्धि। वैदेशिक रोजगारी र रेमिट्यान्समाथिको बढ्दो निर्भरताले देशको अर्थ–सामाजिक क्षेत्रमा ठूलै जोखिमलाई निम्त्याइरहेको छ । यो यथार्थलाई सरकारले बुझेर पनि बुझ पचाइरहेको छ । शासकहरूमा देखिएको सत्तास्वार्थ र द्रव्यपिशाच प्रवृत्तिले अर्थतन्त्रलाई मात्रै जर्जर पारेको छैन, देशको स्वाभिमान र अस्तित्वलाई नै खतरामा पारेको छ ।

प्रतिक्रिया दिनुहोस