aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

‘कब्जा र अतिक्रमण  सरकारी र सार्वजनिक जग्गा फिर्ता ल्याउन शक्तिशाली आयोग’

  • रासस
    रासस
  • शनिबार, १४ बैशाख २०७६
‘कब्जा र अतिक्रमण  सरकारी र सार्वजनिक जग्गा फिर्ता ल्याउन शक्तिशाली आयोग’

काठमाडौ  ।  भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले कब्जा र अतिक्रमण गरिएका सरकारी र सार्वजनिक जग्गा फिर्ता ल्याउन अधिकार सम्पन्न शक्तिशाली छानबिन आयोग गठनको तयारी भइरहेको बताउनुभएको छ ।    
    
 रिपोर्टस् क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो, “मुलुकभर जहाँ जहाँ सरकारी र सार्वजनिक जग्गा कब्जा भएका छन् त्यो सबै फिर्ता गर्ने तयारीमा सरकार जुटेको छ ।”    
    
 उक्त आयोगलाई सरकारी, सार्वजनिक र गुढीसम्बन्धी जग्गाको विवाद हेर्ने अधिकार दिने गरी कार्यादेश बनाइन लागेको मन्त्री अर्यालले बताउनुभयो । “ललिता निवासबाट लिएको शिक्षाले अब देशभरका सार्वजनिक र सरकारी जग्गा अतिक्रमण र कब्जासम्बन्धी गुनासो छानबिन गर्नु हो”, उहाँले भन्नुभयो, “ललिता निवाससँग जोडिएर आएका विषयको छानबिनका लागि त्यस क्षेत्रका ४५० भन्दा बढी कित्ता मालपोत कार्यालय डिल्लीबजारले बिक्री वितरणका लागि रोक्का राखिसकेको छ ।”    
    
 सरकारले ललिता निवासको जग्गा विवादसम्बन्धी विषयको छानबिनका लागि गठन गरेको समितिको प्रतिवेदनका आधारमा त्यस क्षेत्रका जग्गा रोक्का गरिएको उल्लेख गर्दै मन्त्री अर्यालले भन्नुभयो, “त्यस क्षेत्रको जग्गाको रेकर्ड भएको १०२४ र १०२५ नम्बरको फाइल नै गायब छ, त्यो फाइलभित्र धेरै कित्ता छन्, ती कित्ता पत्ता लगाउनु पर्ने हाम्रो दायित्व रह्यो, पुर्जा, कम्युटर र श्रेस्ता भिडाएर ९८ प्रतिशत कित्ताको किटान गरेर रोक्का निर्णय भएको छ ।”    
    
 रोक्का रहेको जग्गामध्ये नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीनले खरीद गरेको जग्गासमेत रहेको जानकारी दिँदै उहाँले बेथितिको अन्त्य गर्ने र सरकारी सम्पत्तिको रक्षा गर्ने अभियानका साथ सरकार अघि बढेको बताउनुभयो ।    
    
 विगतमा भएको बेथिति र अतिक्रमणको विषय बाहिर आएकामा सरकारले नै भू–माफियालाई प्रोत्साहन ग¥यो भन्ने ढङ्गबाट गलत उद्देश्य राखेर बदनाम नगर्न उहाँले चेतावनी दिनुभयो । उहाँले विषय वस्तु आउँदा सुशासन स्थापित गर्न अघि बढेको गतिमा ठेस पुग्न जाने भएकाले सम्बिन्धित पक्षलाई विचार पु¥याएर बोल्न आग्रह गर्नुभयो ।
 

प्रतिक्रिया दिनुहोस