
माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा एमाले अध्यक्ष केपी ओलीले गठन गरेको गठबन्धनको नयाँ सरकार दुई महिनामा नै सङ्कटमा परेको छ। एमालेलाई राष्ट्रपति, सभामुख लगायतका पद दिने समझदारी सहित प्रधानमन्त्री बनेका प्रचण्डले नेपाली काङ्ग्रेससँग बढाएको शङ्कास्पद सम्बन्धले वैधानिकता पाएपछि ओलीको सक्रियतामा बनेको गठबन्धन टुट्ने अवस्थामा पुगेको छ।
बितेका दुई महिनामा प्रचण्डले गरेका हर्कत के कस्ता थिए भन्ने चर्चा अहिले नेपालका सबैजसो चोक, गल्ली र चिया पसलमा चलिरहेको छ । अब नयाँ समीकरण विकास भएसँगै नेपालको राजनीतिले के कस्तो गति लेला ? सङ्कटमा रहेको अर्थतन्त्रमा यस्तो राजनीतिका परिवर्तनको कस्तो प्रभाव पर्ला ? लगायतका केही महत्त्वपूर्ण विषयहरू अब बहसको केन्द्रमा आउने देखिएको छ। तर, अबको पाँच वर्ष कसरी बित्ला भन्ने विषयमा मन्थन गर्नु अघि २०५२ साल यता मुलुकमा उत्पात मच्चाउँदै आएका एक पात्रको चरित्रबारे चर्चा आज सान्दर्भिक देखिएको छ।
ती पात्र हुन्, माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' । प्रचण्डले मुलुकलाई सङ्कटतर्फ धकेल्न थालेको साढे दुई दशक कटिसक्यो । तर, उनको कारण देशमा छाएको राजनीति स्थिरता घट्ने सम्भावना देखिएको छैन । बरु, राष्ट्रपतिको निर्वाचनले त्यसलाई यति सघन बनाउँदै छ की अबका पाँच वर्ष कति अस्थिर र मुलुकको लागि घातक बन्न सक्छ भन्ने सहज अनुमान लगाउन सकिन्छ।
यो सबैका पछाडि रहेका कारक व्यक्ति उनै प्रचण्ड हुन् । अनि खास कारण चाहिँ उनीभित्र रहेको परजीवी प्रवृत्ति हो । जुन ठ्याक्कै यो प्रकृतिमा रहेको एक अनौठौं जीवको विशेषतासँग मेल खान्छ ।
अनौठो परजीवी ल्युकोक्लोरिडियम
प्रकृतिमा एक विचित्रको परजीवी जुका पाइन्छ । जसको नाम हो, ल्युकोक्लोरिडियम । यसको जीवनचक्र यति विचित्र ढङ्गले चल्छ की जसले आधा जीवन चराको पेटमा व्यतीत गर्छ भने बाँकी जीवन शङ्खे किराको शरीरमा ।
रोचक त यो छ की, चराको पेटमा रहेको बेला यो जुकाले फुल पार्छ । र, ती अण्डाहरू चराको बिस्टा मार्फत जमिनमा खस्छन् । जसलाई शङ्खे किराले खान्छ । शङ्खे किराको शरीरमा प्रवेश गरेपछि त्यो जुकाले लार्भा अवस्थामा आफूलाई विकास गर्छ । त्यो लार्भा शङ्खे किराको दिमाग र आँखासम्म जान्छ । अनि त्यसले शङ्खे किराको दिमागलाई आफ्नो नियन्त्रणमा लिन्छ र प्रकृति विरुद्धको काम गर्न/गराउन शङ्खे किरालाई बाध्य बनाउँछ ।
जस्तो की सामान्यतया शङ्खे किराहरू दिउँसो घाम लागेका बेलामा बाहिर निस्किदैनन । त्यसैगरि यिनीहरू रुखमा त चढ्छन् तर त्यसको टुप्पोसम्म पनि जाँदैनन् । किनकि रुखको टुप्पोमा पुग्दा चराले खाने डर उनीहरूमा हुन्छ ।
तर, ल्युकोक्लोरिडियमले दिमाग नियन्त्रण गरेका शङ्खे किराहरू दिउँसै बाहिर निस्किन्छन् । रुखको टुप्पोसम्म जान्छन् र चराको सिकार हुन तयार हुन्छन् । त्यति मात्र होइन शङ्खे किराको आँखामा पुगेको त्यो लार्भाले उसको आँखालाई डिस्कोमा बल्ने लाइट जस्तै चम्काइदिन्छ । उसका आँखाहरू औँसा किरा जसरी हल्लाइदिन्छ । जसले गर्दा चराहरू शङ्खे किराको आँखातर्फ आकर्षित बन्छन् । र, त्यसलाई सिकार गर्छन् ।
फलतः फेरि लार्भा चराको पेटसम्म पुग्छ । त्यहाँ परिपक्व र वयस्क अवस्थामा आफूलाई विकास गर्छ। अण्डा पार्छ । फेरि त्यो बिस्टा मार्फत जमिनमा झर्छ, शङ्खे किराले खान्छ । चराले ठुङ्छ । यो चक्र चलिरहन्छ ।
प्रचण्डको ल्युकोक्लोरिडियम प्रवृत्ति
हो, ठ्याक्कै यही परजीवीसँग मेल खानेगरि आफ्नो राजनीतिक जीवनचक्र चलाइरहेका पात्र हुन्, प्रचण्ड । उनी आफ्नो जीवनचक्र चलाउन विभिन्न अन्य जीवहरूको सहारा लिइरहेका छन् । आधा जीवन एकातिर बिताउँछन् र आधा अर्कैतिर ।
आफ्नो अनुकूलताका लागि उनले आफैलाई शरण दिइरहेकाहरूको मन मस्तिष्क नियन्त्रणमा लिन्छन्, ल्युकोक्लोरिडियमको जस्तै । अनौठो जुकासंग पुरै मिल्ने उनको अर्को प्रवृत्ति हो, जहाँ बस्छन् त्यहाँ उत्पात मच्चाउँछन् । शरण दिनेलाई यतिसम्म घात गर्छन् की उसैलाई अर्काको सिकार बन्न बाध्य बनाउँछन् ।
केही घटनाक्रमहरू हेरौँ, २०५२ सालमा जनयुद्धको नाममा मध्यपश्चिमका दुर्गम पहाडी गाउँमा बस्ने सोझा मानिसहरूलाई उचाले । यसरी उनीहरूको मस्तिष्क नियन्त्रणमा लिए की तत्कालीन राज्य सत्ताले उनीहरूको सिकार गर्यो । जसरी शङ्खे किराको सिकार चराले गर्छ ।
आफ्नै सनातन र प्राकृतिक जीवनचर्या विपरीत सोझा जनताहरूलाई अनौठा हर्कत गर्न लगाए । सेना र प्रहरीको आँखामा पारे । अन्ततः तिनीहरूको जीवनको मूल्यमा आफ्नो भविष्य निर्माण गरे । दोहोर्याइरहनु आवश्यक छैन की उनी त्यसबेला भारतीय राज्यको संरक्षणमा उतैतिर सुखद जीवन यापन गरिरहेका थिए ।
पछि २०६४ सालको निर्वाचनमा प्रचण्डले एउटा भ्रम छरे । त्यो पनि सफलतापूर्वक । नेपाली जनता यति नराम्ररी झुक्किए कि यी परजीवीहरू हुन् भन्ने अनुमान नै लगाएनन् । तर, प्रकृति नियम विपरीत कसरी चल्थ्यो। परजीवी परजीवी नै हो । उनी स्वाधीन ढङ्गले बाच्न सकेनन् । उनको बहुमतिय सरकार नौ महिनामा नै ढल्यो । किनकि परजीवी छुट्टै बाच्न सक्दैन । त्यसपछिका धेरै सरकार ढल्ने र बन्ने क्रममा यो परजीवी जीवको सक्रियता रह्यो । त्यसबिच जे भयो यिनको राजनीति जीवन चलाउने हिसाबले मात्रै भयो ।
एमाले अर्थात् चरा र काँग्रेस अर्थात् शंखेकिरा
जब उनी सङ्कटमा परे नेकपा एमालेको शरीर भित्र प्रवेश गरे, चराको शरीरमा लार्भा वयस्क भएझैँ त्यहाँ उनले पनि आफूलाई केही मजबुत बनाउने मौका पाए । तर, ल्युकोक्लोरिडियमको जीवन चक्र चराको पेटमा मात्रै पुरा हुँदैन थियो । स्वभाविकरुपमा बिस्टा बनेर भुईँमा झरे, सर्वोच्चको फैसला मार्फत ।
प्रकृतिको नियम पुरा हुनै पर्थ्यो । नेपाली काँग्रेस नामको शङ्खे किराले खायो । त्यसको मस्तिष्क र आँखासम्म पुगेको लार्भाले अहिले त्यहाँ फेरि उत्पात मच्चाइरहेको छ । काँग्रेसका आँखा डिस्कोको लाइट झैँ चम्किँदै छन् । चराले सिकार गर्छ भन्ने हेक्का नराखी टुप्पोतर्फ काँग्रेस चढ्दै छ । चम्किलो घाममा बाहिर निस्किँदै छ । जे जे नगर्नु पर्थ्यो त्यो गर्दै छ । तर, त्यसलाई के थाहा छैन भने यो सब त्यही परजीवीको काम हो ।
परजीवीको अन्त्य
ल्युकोक्लोरिडियमको जीवनचक्र पुरा हुन नदिन श्रृखला कहीँ न कहीँ टुट्नु पर्छ । त्यसबेला मात्रै टुट्छ जब चरा र शङ्खे किरा दुवैले बुझ्छन् की 'हामीलाई एउटा परजीवीले उपयोग मात्रै गरिरहेको छ । बेवकुफ बनाइरहेको छ । हामी कसैका साधन मात्रै बनिरहेका छौँ । अर्कैको जीवन चलाउन आफ्नो जीवन धानिरहेका छौँ ।'
(२०७९ पुस १० गते पहिलो पटक प्रकाशित यो लेखले सान्दर्भिकतालाई ध्यानमा राखेर केही अद्यावधिक सहित पुन प्रकाशित गरिएको हो -सम्पादक)
प्रतिक्रिया दिनुहोस