काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । माओवादी केन्द्रका अध्यक्ष दाहाललाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका रूपमा नियुक्त गरेपछि प्रधानमन्त्री मोदीले ट्वीट गर्दै बधाई दिएका हुन् ।
उनले लेखेका छन्, “नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा हार्दिक बधाई छ, भारत र नेपालबीचको विशेष सम्बन्ध, गहिरो सांस्कृतिक सम्बन्ध र जनता–जनताबीचको न्यानो सम्बन्धमा आधारित छ । यो मित्रतालाई अझ मजबुत बनाउन म तपाईंसँग मिलेर काम गर्न तत्पर छु ।”
राससका अनुसार नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई काठमाडौँस्थित चीन र भारतका राजदूतावासका तर्फबाट बधाई दिइएको छ । नवनियुक्त प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार यहाँस्थित चीनका कार्यवाहक राजदूत वाङ सिन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले टेलिफोनमार्फत बधाई दिएका हुन् ।
दुवै राजदूतले माओवादीका अध्यक्ष दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाई दिँदै उनको कार्यकालमा दुई देशको सहकार्य र सम्बन्ध थप विस्तारित हुने बताएका थिए । चिनियाँ दूतावासका प्रवक्ताले पनि सामाजिक सञ्जाल ट्वीटरमार्फत ‘नेपालको ४४औँ प्रधानमन्त्रीमा नियुक्त अध्यक्ष दाहाललाई बधाई’ भनिएको छ ।
भारतका राजदूत श्रीवास्तवले पनि प्रधानमन्त्री दाहालको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप बलियो बनाउँदै उचाइमा पुर्याउने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस