aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सातै प्रदेशमा कांग्रेस आउट, यस्तो छ नयाँ गठबन्धनको अंकगणित

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • सोमबार, ११ पुस २०७९
सातै प्रदेशमा कांग्रेस आउट, यस्तो छ नयाँ गठबन्धनको अंकगणित

काठमाडौं । केन्द्रमा गठबन्धन टुटेर एमाले नेतृत्वमा नयाँ सत्तागठबन्धन बनेसँगै अब सातै प्रदेशमा एमाले, माओवादी, राप्रपा, जसपा, नागरिक उन्मुक्ति, जनमत मिल्दा सहज बहुमत देखिएको छ । 

प्रदेश १  :  प्रदेश १ मा ९३ प्रदेशसभा सदस्य छन् । सरकार बनाउन ४७ सांसदको समर्थन आवश्यक हुन्छ । प्रदेशसभामा नेकपा एमालेले प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १५ गरी जम्मा ४० सिट प्राप्त गरेको छ । एमालेसँगै तालमेल गरेको राप्रपाले प्रत्यक्षतर्फ २ र समानुपातिकतर्फ ४ गरी जम्मा ६ सिट प्राप्त गरेको छ । एमाले र राप्रपा मिल्दा जम्मा ४६ सांसद मात्र हुन्छन् । ४७ सांसदको समर्थन आवश्यक पर्ने यो प्रदेशमा एमाले, माओवादी, राप्रपा र जसपा मिल्दा ६० पुग्छ । यी चार दलले प्रदेश १ मा सहज सरकार बनाउने देखिन्छ । 

मधेस प्रदेश  :  १ सय ७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि ५४ सांसद आवश्यक पर्छन् । प्रदेशसभामा २३ सांसदसहित एमाले प्रदेशसभाको सबैभन्दा ठूलो दल बनेको छ भने २२ सांसद रहेको कांग्रेस दोस्रो स्थानमा छ । जसपा १६, जनमत पार्टी १३ लोसपाका ९, माओवादी केन्द्रसँग ८ एकीकृत समाजवादीसँग ७ सांसद छन् । मधेस प्रदेशसभामा ६ जना स्वतन्त्र सांसद छन् भने राप्रपाका २, संघीय समाजवादी पार्टी तथा नागरिक उन्मुक्ति पार्टीले एक–एक सांसद पाएका छन् । 

बागमती प्रदेश  :  बागमती प्रदेशमा नयाँ गठबन्धनको बहुमत हुन्छ । १ सय १० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ सिट आवश्यक पर्छ । यहाँ कांग्रेससँग ३७, एमालेसँग २७, माओवादी केन्द्रसँग २१, राप्रपा १३ र एकीकृत समाजवादीसँग ७, नेमकिपासँग ३ र हाम्रो नेपाली पार्टी २ सिट छ । नयाँ गठबन्धनको एमालेसँग २७, माओवादी केन्द्र २१, राप्रपासँग १३ गरी ६१ हुन्छ । 

गण्डकी प्रदेश  :  गण्डकी प्रदेशमा पहिलो दलका रूपमा कांग्रेसका २७ सांसद छन् भने एमालेसँग २२, माओवादी केन्द्रसँग ८ सांसद छन् । राप्रपाका २ र एकीकृत समाजवादीका १ सांसद छन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार गठनका लागि ३१ सांसदको आवश्यकता हुन्छ । 

लुम्बिनी प्रदेश  :  लुम्बिनी प्रदेशमा ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यकता पर्छ । लुम्बनी प्रदेशमा एमाले ठूला दल छ । यहाँ एमाले २९, कांग्रेस २७, माओवादी ९, राप्रपा ४, जसपा ३, लोसपा ३, नागरिक ४, जनमत ३, स्वतन्त्र ३, नेकपा एकीकृत समाजवादी १, जनमोर्चा १ रहेको छ । नयाँ समीकरणअनुसार एमाले २९, माओवादी ९, राप्रपा ४, जसपा ३, नाउपा ४, जनमत ३ गरी ५२ पुग्छ । यो नयाँ सरकारका लागि सहज बहुमत हो ।

कर्णाली प्रदेश  :  कर्णाली प्रदेश ४० सदस्यीय छ । नयाँ गठबन्धनसँग सुविधाजनक बहुमत हुन्छ । यहाँ कांग्रेस १४, माओवादी केन्द्र १३, एमाले १०, समाजवादी र राप्रपाले एक–एक सिट जितेका छन् । यहाँ एमाले र माओवादी केन्द्र मिल्दा नै बहुमत पुग्छ । 

सुदूरपश्चिम प्रदेश  :  ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशमा नयाँ समीकरणले नयाँ सरकार सहज बन्ने देखिन्छ । सरकार गठनका लागि २७ सांसद चाहिनेमा कांग्रेसका १९, माओवादीका ११, एमाले १०, नागरिक उन्मुक्ति पार्टी ७, एकीकृत समाजवादीका ४, राप्रपा १ र स्वतन्त्रबाट १ सांसद छन् । यहाँ नयाँ समीकरणअनुसार माओवादी केन्द्र ११, एमाले १०, नाउपा ७, राप्रपा १ गरी २९ हुन्छ । नयाँ सरकार बन्ने देखिन्छ ।  

प्रतिक्रिया दिनुहोस