aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

उपत्यकाका तीनै जिल्लामा हरियालीसहितको अपाङ्गमैत्री पैदलमार्ग बनाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ पुस २०७९
उपत्यकाका तीनै जिल्लामा हरियालीसहितको अपाङ्गमैत्री पैदलमार्ग बनाइने

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा हरियालीसहितको अपाङ्गमैत्री पैदलमार्ग निर्माण गर्ने भएको छ । राजधानीमा अपाङ्गमैत्री पैदलमार्ग कमै रहेकाले यस्तो मार्ग बनाउन लागिएको प्राधिकरणका सूचना अधिकारी इञ्जिनीयर सौरब ढकालले जानकारी दिएका हुन् । 

भक्तपुर जिल्लाको भक्तपुर नगरपालिकामा यो कार्यक्रम प्रारम्भ गरिने छ । अपाङ्गमैत्री पैदलमार्गका लागि कुन सडक उपयुक्त हो भन्ने विषयमा नगर प्रमुखले गरेको सिफारिसका आधारमा काम गरिने उनको भनाइ थियो । यसैगरी काठमाडौँको दक्षिणकाली, नागार्जुन र कागेश्वरी मनोहरा नगरपालिकामा पनि अपाङ्गमैत्री पैदलमार्ग निर्माण गरिने छ । तीनवटै नगरपालिकाका कुन सडकमा यो मार्ग निर्माण गर्ने भन्ने सिफारिस नगर प्रमुखबाट आउने प्राधिकरणले जनाएको छ । 

यस्तो सिफारिस नगर प्रमुखबाट आउने क्रममा रहेको जनाइएको छ । ललितपुर महानगरपालिकाको कुन सडकमा यस्तो मार्ग बनाउने भन्ने सिफारिस नगर प्रमुखबाट आउन बाँकी रहेको सूचना अधिकारी ढकालले बताए । महानगरपालिकाले यसअघि जावलाखेलमा यस्तो मार्ग निर्माण गर्ने भने पनि कालोपत्र भइसकेकाले त्यहाँ काम गर्न नसकिने जनाइएको छ । तीनवटै  जिल्लामा अपाङ्गमैत्री पैदलमार्ग निर्माणका लागि रु १४ करोड बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस