aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

बेरुजु फछर्यौट नगर्ने स्कुलका प्रधानाध्यापक र लेखा प्रमुखको तलब रोक्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ पुस २०७९
बेरुजु फछर्यौट नगर्ने स्कुलका प्रधानाध्यापक र लेखा प्रमुखको तलब रोक्का

चितवन । कालिका नगरपालिकाले बेरुजु फछर्यौट नगर्ने विद्यालयका प्रधानाध्यापक र लेखा प्रमुखको तलब रोक्का गरेको छ । बेरुजु बढ्दै गएपछि बेरुजुलाई असुल गर्ने अभियानस्वरुप तलब रोक्का गर्न थालिएको हो । 

नगरपालिकाका प्रमुख विनोद रेग्मीका अनुसार नगरभित्रका ३५ विद्यालयमध्ये कात्तिक महिनामा १३ विद्यालयमा मात्र तलब निकासा गरिएको थियो । यो सङ्ख्या मङ्सिरमा २५ पुगेको छ । १० विद्यालयका प्रधानाध्यापक र लेखा प्रमुखको तलब रोकिएको छ । सुरुमा सबैको तलब रोकिएकामा पछि प्रधानाध्यापक र लेखा प्रमुखको मात्र तलब रोकिएको उनले बताए । 

विद्यालयको बेरुजुको विस्तृत विवरण बुझाएर समय तोकेर असुल गर्ने कबुलियत गरेपछि मात्र तलब पठाइएको उनले जानकारी दिए । नगरपालिकाभित्र विगतदेखि हालसम्मको रु १६ करोडभन्दा बढी बेरुजु रहेको छ । सोमध्ये सबैभन्दा बढी शिक्षा, स्वास्थ्य र योजनामा बेरुजु रहेको रेग्मीले जानकारी दिनुभयो । नगरपालिकाले विद्यालयमा हरेक महिना तलब पठाउने गर्दछ । सुरुमा बेरुजु असुलीका लागि धेरै भएको शिक्षा क्षेत्रबाट काम थालिएको उहाँ बताउनुहुन्छ । यससँगै नगरपालिकाले प्रधानाध्यापक र लेखा प्रमुखका लागि दुईदिने लेखासम्बन्धी तालिमसमेत दिएको छ ।

प्रमुख रेग्मीले भने, “अब बेरुजु हुन दिदैनौँ । पहिलेको पनि उठाउँछौँ ।” तलब रोकिएपछि शिक्षकका सङ्घ सङ्गठनले दबाब दिएको भए पनि नगरपालिका पछि नहट्ने उनको भनाइ छ । उनले थपे, “हामी कोहीप्रति पूर्वाग्रही छैनौँ । बेरुजु शून्य बनाउने हाम्रो अभियान हो ।” कतिपय विद्यालयको बेरुजुको बिल, भर्पाइमा जिम्मेवार व्यक्ति उल्लेख नभएकोसमेत पाइएको छ ।  

प्रतिक्रिया दिनुहोस