
काठमाडौं, पुस १८ । संसदको लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी विमान खरिदमा बहालवाला मन्त्री, २ जना सचिव र निगमका महाप्रबन्धकलाई कारबाहीको सिफारिस गरेको छ ।
वहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, पूर्वमन्त्रीद्वय जीतेन्द्रनारायण देव, जीवनबहादुर शाही कारबाही सिफारिसमा परेका छन् । पूर्वमन्त्री देवलाई भुक्तानी सिफारिस गरेको र शाहीले वाइडबडी खरिद गर्दा यथेष्ट सतर्कता नअपनाएको आरोप लागेको छ।
त्यस्तै कारबाहीको सिफारिसमा सचिवहरु प्रेम राई, शंकर अधिकारी, कृष्णप्रसाद देवकोटा छन्। नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारलाई समेत कारबाही गर्न उपसमितिले भनेको छ। अनियमिततामा संलग्न रहेको ठहरसहित पूर्व र वहालवालासहित तीन मन्त्री र तीन सचिवलाई कारवाही सिफारिस गरिएको छ ।
उपसमितिले विमान खरिदमा ४ अर्ब ३५ करोड रुपैयाँ अनियमितता भएको ठहर गर्दै मन्त्री अधिकारीसहित बहालवाला पर्यटन सचिव कृष्ण देवकोटा र गृहसचिव प्रेम राईलाई पनि निलम्बनसहित कारबाहीको माग गरेको छ । उपसमितिले पूर्व पर्यटन सचिव शंकर अधिकारीलाई पनि दोषी देखाएको छ ।
वाइडबडी खरिद अनियमितताबारे छानबिन गर्न गठित उपसमितिले ४ अर्ब ३५ करोड ५६ लाखभ्रष्टाचार भएको निष्कर्षसहितको प्रतिवेदन बुधबार लेखा समितिलाई बुझाएको हो।
उपसमितिले जहाज खरिद नै बदनियतपूर्ण, पुरानोमा विचौलिया प्रयोग गरिएको, प्रायस् सबै खरिद प्रक्रियालाई दुरुपयोग गरेको, जहाजको २४२ अधिकतम उड्डयन तौल हुनुपर्नेमा २३० को ल्याइएकोनिष्कर्ष निकालेको छ ।
प्रतिक्रिया दिनुहोस