काठमाडौं । पहुँचका भरमा नियम विपरित व्यक्तिगत सुरक्षाकर्मी राख्दै आएका प्रभावशाली व्यक्तिहरु गृहमन्त्री रवी लामिछानेको पहिलो निसानामा परेका छन् ।
विगत लामो समयदेखि उठ्दै आएको सरकारी सुरक्षाकर्मीको दुरुपयोगको विषयलाई उनले आफ्नो कार्यभारको प्रारम्भिक सूचीमा राखेको देखिएको छ । जसको परिणम स्वरुप आज मंगलबार गृहमन्त्रालयले एक सचना सार्वजनिक गर्दै ४८ घण्टाभित्र नियम विपरित त्यस्तो सुविधा लिईरहेकाहरुलाई समय सिमा तोकिदिएको छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘कार्यविधिमा व्यवस्था गरिएको भन्दा विपरित सेवा सुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखिएको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत निकायलाई निर्देशन गरिसकिएको हुँदा उक्त कार्यविधि पालना गर्न सहयोग गरिदिन हुन सबैमा अनुरोध छ ।’
स्मरण रहोस् कानुन विपरित धेरै पहुँचवाला व्यक्तिहरुले अनाधिकृत रुपमा सरकारी सुरक्षाकर्मीलाई अंगरक्षक रुपमा राख्दै आएका छन् । कतिपय राजनितिक दलका नेता तथा प्रहरीका हाकिमहरुले समेत कानुनले तोके भन्दाबढि सुरक्षाकर्मीहरुलाई घरमा सहायकको रुपमा राख्ने र अनेकौं घरायसी काममा प्रयोग गर्ने गरेको गुनासो सरोकारवालाहरुले गर्दै आएका थिए ।
राज्य स्रोतको अनाधिकृत दोहन भएको भन्दै विभिन्न कालखण्डमा यसको विरोध हुँदै आएपनि यो विषय त्यत्तिकै सेलाउने गरेको इतिहास छ ।
प्रतिक्रिया दिनुहोस