aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

रातभर तस्करीका सामान भित्रिँदा के गर्लान् सुरक्षाकर्मी ?

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • बुधबार, १३ पुस २०७९
रातभर तस्करीका सामान भित्रिँदा के गर्लान् सुरक्षाकर्मी ?

काठमाडौं । प्रहरीले सोमबार राति सात लाख ४७ हजार रुपियाँ मूल्य बराबरको अवैध रूपमा भित्रिएको १७ प्रकारका सामान बरामद गरेको छ । विराटनगर–१६ हुलासचोक, विराटनगर–१७ रघुपति जुट मिल र जहदा गाउँपालिका–१ नहरटोलमा भारतबाट अवैध रूपमा भित्र्याउँदै गरेको अवस्थामा ती सामान नियन्त्रणमा लिइएको हो । 

इलाका प्रहरी कार्यालय, रानी मातहत रहेको इप्रका रानी सीमा र इलाका प्रहरी कार्यालय, बुधनगरको टोलीले राति १०स्३० बजे सामान बरामद गरेको थियो । भारतबाट तस्करी गरेर मध्यरातमा नेपाल लिएर आउँदै गर्दा प्रहरीलाई देखेपछि कारोबारी भागेको बताइएको छ । 

प्रहरीले पक्राउ गरेकामध्ये इस्टकोट, झुल, चुलो, बर्नर, कुकरका हेन्डिल कभर, वासर, रुद्राक्ष दाना, सिटी सफारीका सकप, धुलो दूध, जुत्ताचप्पल, गलबन्दी, गाईबस्तुलाई खुवाउने भिटामिन, प्लास्टिकका कुर्सी, पूजाका सामग्री, झोलाका क्लिप, मोजा, युरिया मल, चिनीजस्ता सामग्री छन् । आफ्नो उपभोगका लागि नभएर तस्करीको कारोबार चलाउनेबाट भित्र्याएको सामान मध्यरातमा पक्राउ परेको प्रहरीले जनाएको छ । तस्करीमा संलग्नले मध्यरातमा भित्र्याउने र गोदाममा राख्ने तथा दिउँसो पसलपसलसम्म पु(याउने गरेका छन् । 

प्रदेश १ को राजधानी विराटनगरमा सुरक्षा संयन्त्रको बाक्लो उपस्थिति छ । प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी गण, सीमा सुरक्षा फोर्स, सीमा सुरक्षा बेस क्याम्प, इलाका प्रहरी कार्यालय भएको विराटनगर क्षेत्रकै नाकाबाट तस्करी बढेसँगै यसलाई रोक्न चुनौती देखिएको छ । भारतसँग सीमा जोडिएको विराटनगरमा वैधानिक बाटो भएर भन्सार जाँचपास चौकी आईसीपी, साबिक रानी भन्सारबाट मालसामान नेपाल भित्रिने गरेको छ । त्यसबाहेक जुनसुकै बाटो आए पनि त्यो तस्करीकै सामान मानिन्छ । साबिक रानी भन्सार क्षेत्रमा भन्सार कार्यालय विराटनगरले चेकजाँचमा कडाइ गरेको छ । आईसीपी क्षेत्रबाट मालवाहक सवारी मात्रै भित्रिन्छन् । भन्सार कार्यालयले कडाइ गरेपछि आसपासका नाकाबाट तस्करी बढेको छ । 

विराटनगरको मटेर्वा नाका, इस्लामपुर, दरैयाजस्ता क्षेत्रबाट दिउँसो र राति तस्करी भइरहेको दाबी भन्सार कार्यालयको छ । त्यसबाहेक आईसीपी नजिकको भेडियारी, जहदाको तारेगामा, गलेरिया, धनपालथानको नोचा, खयरबोना, मझारे, रङ्गेलीको चोप्राहाजस्ता नाकाबाट सेटिङमा तस्करीको कारोबार भइरहेको भन्सार कार्यालयका कर्मचारीको दाबी छ । 

प्रतिक्रिया दिनुहोस