aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

कुन दललाई कति मन्त्रालय ? गठबन्धनले यसरी गर्दैछ भागबन्डा

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • बुधबार, १३ पुस २०७९
कुन दललाई कति मन्त्रालय ? गठबन्धनले यसरी गर्दैछ भागबन्डा

काठमाडौं । एमाले नेतृत्वको नयाँ गठबन्धनबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने पनि धेरै महत्वपूर्ण पदको भागबन्डा बाँकी नै छ । यद्यपि, राष्ट्रपति र सभामुख एमालेले पाउने ‘भद्र’ सहमति भएको छ ।

प्रधानमन्त्री पाएको माओवादीले उपराष्ट्रपति र रास्वपाले उपसभामुख पाउने भएका छन् । यीसहित राष्ट्रियसभा उपाध्यक्ष र एक सदस्य, सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख, सातै प्रदेशका सभामुख तथा उपसभामुखसहित सयभन्दा बढी पद छन् । 

दाहालले पहिलो चरणमा तीन उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । एमाले उपमहासचिव विष्णु रिमालले मन्त्रिपरिषद्ले एक हप्ताभित्र पूर्णता पाउने बताए । एमालेबाट विष्णुप्रसाद पौडेल उपप्रधान एवं अर्थमन्त्री, माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री र रास्वपाबाट रवि लामिछाने उपप्रधान एवं गृहमन्त्री बनिसकेका छन् ।

यस्तै एमालेबाट तीन र जनमतबाट एकजना मन्त्री नियुक्त भइसकेका छन् । यी मन्त्रीको कार्यभार तोकिएको छैन । 

प्रतिनिधिसभामा जितेको सिट संख्यालाई आधार बनाएर भागबन्डा गर्ने तयारीमा सत्ता साझेदार दलहरू छन् । नयाँ समिकरणमा एमाले ७८, माओवादीे ३२, रास्वपा २०, राप्रपा १४, जसपा १२, जनमत ६, नाउपाको ४ सिट छ । यो गठबन्धनलाई स्वतन्त्र सांसदहरू अमरेशकुमार सिंह, प्रभु साह र किरणकुमार साहले समर्थन गरेका छन् । 

एमाले उपमहासचिव रिमालले पद बाडँफाँटको विषयमा छलफल गर्न बाँकी नै रहेको बताए । पद बाडँफाँट छलफल र समझदारी मै हुने उनको भनाइ छ। ‘एक्लैले सरकार बनाउन सक्ने अवस्था छैन । त्यसैले छलफल र समझदारीमा नै सबै कुरा टुंगिन्छ,’ उनले भने, ‘पदको बाँडफाँटमा जटिलता आउँदैन, सबैको एउटै लय छ ।’ सातै प्रदेशका मुख्यमन्त्री, सभामुख, उपसभामुखको विषयमा छिट्टै समझादारी हुने उनले बताए । राष्ट्रियसभा उपाध्यक्ष र एक सदस्य पनि रिक्त छ । प्रतिनिधिसभा र प्रदेशसभाका संसदीय समितिको सहमतिमा नै छिनोफोनो हुनेछ । उनले पदको विषयमा कसैले पनि हानथाप नगर्ने विश्वास व्यक्त गरे ।   

प्रतिक्रिया दिनुहोस