aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

पाँच दिनभित्र सरकारको न्यूनतम कार्यक्रम तय गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ पुस २०७९
पाँच दिनभित्र सरकारको न्यूनतम कार्यक्रम तय गरिने

काठमाडौं । प्रमुख सत्ता साझेदार दलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेर नागरिकको अपेक्षाअनुसारको काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सरकारको न्यूनतम कार्यक्रम तय गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको संयोजत्कवमा एक कार्यदल गठन गरेको छ ।   

कार्यदलले पाँच दिनभित्र सरकारको न्यूनतम नीति तथा कार्यक्रम तयार पार्ने उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । कार्यदललमा सत्ता साझेदार दलका तर्फबाट एक–एक जना सदस्य रहनेछन् । वर्तमान सरकार जनताको अपेक्षा पूरा गर्न गठन भएकाले पनि केही न केही नयाँ कामको सुरुआत गर्नैपर्छ भन्ने मनसायका साथ आजको बैठकमा छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहनुभएका गृहमन्त्री लामिछानेले जानकारी दिए । 

यस्तै बैठकमा मन्त्रिपरिषद् विस्तार एवं अन्य समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको उनले जानकारी दिए । मन्त्रिपरिषद् विस्तार गर्दा क्षमताका आधारमा काम गर्न सक्ने विज्ञलाई समेटेर विषयगतरूपमा समेत योग्य व्यक्तिलाई पनि समावेश गर्ने विषयमा बैठकमा महत्वपूर्ण विचार–विमर्श भएको थियो । उनले आजको बैठकलाई सुरुआती बैठकका रूपमा लिँदै शुक्रबार पुनः बैठक बस्ने बताए । 

“न्यूनतम साझा कार्यक्रम उद्देश्य प्राप्ति गर्ने लक्ष्यका साथ तयार गर्ने गरी छलफल भएको छ, हामी केका लागि सरकारमा छौँ भन्ने तय गर्न लागिएको छ”, उनले भने । उनले सरकार विस्तार गर्ने काम प्रधानमन्त्रीले विश्वासको मत लिएर गर्ने वा नगर्ने भन्नेभन्दा पनि सबै विषयलाई प्याकेजमा टुङ्गो लगाउने सन्दर्भमा छलफल केन्द्रित रहेको बताए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष ओली, उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत सहभागी थिए । 

प्रतिक्रिया दिनुहोस