aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

सिंगल मान्छेले भ्रष्ट्राचार गर्छ कि गर्दैन ? मन्त्री श्रेष्ठको भनाई यस्तो छ

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • आइतबार, १७ पुस २०७९
सिंगल मान्छेले भ्रष्ट्राचार गर्छ कि गर्दैन ? मन्त्री श्रेष्ठको भनाई यस्तो छ

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका नेता एवं उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायण काजी श्रेष्ठले आफू पावर र पैसाका लागि नभइ काम गर्नका लागि पदमा आएको बताएका छन् । शनिबार श्रेष्ठको सम्मानमा उनको पारिवारिक सम्बन्ध जोडिएको मेयरसिंह जौवारी प्रतिष्ठानले आयोजना गरेको ‘बधाई तथा शुभकामना’ कार्यक्रममा बोल्दै आफूलाई पैसाको कुनै लालच नभएको बताएका हुन् । उनले पद पावरका लागि भन्दा पनि देशमा सेवा भावले केही गर्नु पर्छ भन्ने आफ्नो सोच रहेको सुनाए ।

नेता श्रेष्ठ हालसम्म पनि अविवाहित छन् । उनले आफू ‘सिंगल’ नै रहेको भन्दै भएको पैतृक सम्पति समेत बेचेर ऋण तिरेको सुनाए । उनले आफूसँग अरु कुनै चलअचल सम्पत्ति तथा एक कित्ता शेयर पनि नरहेको बताए । आफ्नो नाममा बैंक ब्यालेन्स पनि नभएको उनले बताए । ‘राष्ट्रिय सभा सदस्य भएकाले त्यहीँ एउटा राष्ट्रिय सभाले खोलिदिएको बैंक खाता छ, अरु कुनै बैंक खातामा एक रुपैयाँ पनि छैन’ माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले भने, ‘न घर छ, न जग्गा छ, भएको पैतृक सम्पत्ति पनि बेचेर ऋणपान तिरेँ, बाँकी रहेको पैसा पार्टीकै लागि दिएको छु ।’

आफूलाई यहाँसम्म आइपुग्न प्रतिष्ठान र आफ्ना नातेदारहरुको भूमिका पनि महत्वपूर्ण रहेको उनले बताए । ‘तपाईहरुले मलाई कुनै अनावश्यक काम गर्न दवाव दिनु भएन, तपाईहरुको हौसला मेरा लागि सधै प्रेरणा बन्यो’ उनले भने, ‘ऐन, नियम विपरित तपाईहरुले मलाई का मगर्न कुनै दवाव दिनु भएन र त, म अहिले यहाँ छु ।’ उनले आफूले आफ्नै नातेदारका लागि भए पनि नियम र कानूनको उलंघन भने नगर्ने बताए । तर नियम र कानूनको अधिनमा हुँदाहुँदै पनि कसैले होच्याउने वा कमजोर बनाउन खोजेको अवस्थामा भने आफूचुप नबस्ने बताए ।

प्रतिक्रिया दिनुहोस