aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

जीर्ण तुइनको जोखिममा झुण्डिएको हुम्लावासीको दैनिक जीवन

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • आइतबार, १७ पुस २०७९
जीर्ण तुइनको जोखिममा झुण्डिएको हुम्लावासीको दैनिक जीवन

काठमाडौं । हुम्लावासीहरूका लागि अझै पनि तुहिनकै साहायतामा खोला वारपार गर्नुपर्ने बाध्यता छ ।

हुम्लाको खार्पूनाथ गाउँपालिकामा एकै ठाउँमा दुईओटा झुलङ्गे पुल छ, जब कि हुम्लाकै अधिकांश स्थानहरूमा हेर्ने हो भने तुहिन कै भरमा घाँस दाउरा ओसारपोसार देखि स्वयम् मानिस नै जोखिम मोलेर खोला वारपार गर्नु पर्ने बाध्यता रहेको छ ।

खार्पूनाथ गाउँपालिका भित्रकै लाली बगर र अदानचुली दोमुखमा मानिसहरू तुहिनकै भरमा कर्णाली वारपार मात्रै होइन आफ्नो दैनिकी समेत गुजारा गर्ने गरेका छन् । तुहिन बाहेक अन्य कुनै विकल्प नहुँदा स्थानीयको जीवन कष्टकर बनेको छ ।

एकै ठाउँमा दुईओटा पुल हुनु र अधिकांश ठाउँहरूमा तुहिनकै भरमा घाँस दाउरा ओसारपोसार देखी स्थानीयहरू आवतजावत गर्नु चासोको विषय बनेको छ । जनताका आवश्यकता मध्यनजर गर्दै राज्यको बजेट सही ठाउँमा प्रयोग नहुँदा यस्तो अवस्था आएको प्रष्ट देख्न सकिन्छ ।

यसको वास्तविकता बुझ्दै जाँदा सम्बन्धित गाउँपालिकाका अध्यक्ष कर्ण रावलले पुरानो पुल एकदमै जीर्ण भएकाले अर्को नयाँ पुल निमार्ण गर्नुपरेको बताए । उनले उक्त पुल निर्माण गर्दा राज्यको रकम नभएर कुनै एक संस्थाले निर्माण गरिदिएको जिकिर गरे ।

यस विषयमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले यो विषय नितान्त गाउँपालिकासँग सम्बन्धित भएकाले आफूलाई खासै जानकारी नभएको र कतै तुहिनबाट वारपार गर्नुपर्ने स्थिति र कतै दुईओटा पुलको विषयमा सम्बन्धित स्थलका स्थानीयवासीहरू र ठेकेदारहरूको नै कमजोरी भएको बताए ।

प्रतिक्रिया दिनुहोस