aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

'नयाँ वर्षलाई म घृणा गर्छु'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ पुस २०७९
'नयाँ वर्षलाई म घृणा गर्छु'
  • एन्टोनियो ग्राम्सी 

प्रत्येक बिहान, म जब फेरि उही घुरमैलो आकाश मुन्तिर बिउँझन्छु, मलाई त्यही क्षण नै नयाँ वर्षझैँ लाग्छ। त्यसकारण म यी नयाँ सालहरूलाई घृणा गर्छु किनकि नयाँ सालहरू बजेटजस्तो बनेर आउँछन्, जसले जीवन र मानव मनोभावहरूलाई आर्थिक नाफा घाटामा तौलन्छ, बदल्छ। बजेटहरूमा तिर्न बाँकी पैसाको कुरा हुन्छ, नयाँ व्यवस्थापनका लागि भनेर निश्चित रकम छुटाइएको हुन्छ।

नयाँ सालको तथाकथित मितिले जीवनका निरन्तरता र मनोभावहरूलाई हटाउँछ। हामी ठान्नपुग्छौं कि गत वर्ष र नव वर्षका बिचमा विश्राम छ। र, नयाँ इतिहास सुरु हुँदै छ भन्ने ठान्छौँ हामी। त्यसैले, हामी नयाँ प्रतिज्ञाहरू गर्छौँ। पूरा गर्न नसकेका प्रतिज्ञाहरूप्रति पश्चात्ताप गर्छौँ। यस्तै, यस्तै…। खासमा मितिहरूको समस्या नै यही हो।

काल क्रम इतिहासको मेरुदण्ड हो भन्छन् मान्छेहरू। ठिकै छ, तर प्रत्येक असल मान्छेका दिमागमा कमसेकम चारपाँचवटा मितिहरू गढेर बसेका हुन्छन् र ती मितिहरू इतिहासका खराब सन्दर्भका हुन्छन्। र, खासमा ती मितिहरू पनि नयाँ वर्ष नै थिए। रोमन इतिहासको नयाँ वर्ष, मध्य युगको नयाँ वर्ष अथवा आधुनिक युगको नयाँ वर्ष।

र, यी नयाँ साल र मितिहरू हाम्रा दिमागमा यति गढेर बसेका छन् कि, यति आक्रामक छन् कि हामी कहिलेकाहीँ यस्तो ठान्ने अवस्थामा पुग्छौँ– सन् ७५२ मा इटलीमा बल्ल जीवनको अध्याय सुरु भयो। सन् १४९० र १४९२ को मितिचाहिँ हिमालहरूजस्तै लाग्छ हामीलाई। हामी ठान्छौँ–मानव सभ्यतामा त्यतिखेर ठुलो तख्ता पलट भयो, मानव सभ्यताले बिलकुलै नयाँ जीवनमा आफूलाई पायो। यसकारण अवरोधक बन्न पुग्छन् मितिहरू। त्यस्तो पर्खाल बन्न जान्छन् मिति, जसले हामीलाई ‘बिना कुनै अवरोध त्यो आधारभूत र अपरिवर्तनीय रेखाबाटै इतिहास अघि बढ्छ’जस्तो लाग्छ, जसरी फिल्मका बिचमा आँखै तिरमिराउने गरी मध्यान्तर हुन्छ।

त्यस कारण म नयाँ सालहरू मन पराउन्नँ। मेरा लागि प्रत्येक बिहान नै मेरो नयाँ साल बनुन् जस्तो लाग्छ। विश्रामका लागि कुनै दिन खाली समय नराखीकन प्रत्येक दिन म आफूलाई समीक्षा गर्न रुचाउँछु, नवीकरण गर्न रुचाउँछु। जब म जीवनका तीव्रताहरूमा डुब्छु/मातिन्छु र पशु तुल्य भई त्यसबाट नयाँ जोस निकाल्न खोज्छु, त्यतिखेर म आफ्नो लागि छोटा छोटा फुर्सद र आराम आफैँ तय गर्छु।

आध्यात्मिक सेवामा हाजिर हुन्न म। बितेका समयहरूमा जोडिएरै पनि म मेरो जीवनका प्रत्येक घण्टालाई नयाँ हुन् भन्ने ठान्दछु।

मलाई त्यस्तो कुनै उत्सव मनाउनु छैन, जसमा अनिवार्य र सामूहिक लय होस्। र, ती चासै नभएका मान्छेहरूबिच मलाई त्यो तथाकथित उत्सव मनाउन मन छैन। हजुर बाउका पनि हजुरबा र एवम् रीतले मनाइयो नयाँ साल भन्दैमा त्यो मनाइनु आवश्यक छैन। दिक्क लाग्छ मलाई यस्ता कुरा।

म यसका लागि पनि समाजवाद पर्खिरहेछु। किनकि समाजवादले हाम्रा मनोभावहरूमा कुनै झङ्कार नभएका मितिहरूका ती सबै फोहरहरूलाई धुलिसात् पार्नेछ। र, हाम्रा पुर्खाहरूबाट अनिवार्य स्विकार्नै पर्ने झङ्कार होइन कि, यदि झङ्कारहरू बन्ने नै छन् भने पनि तिनीहरू हाम्रो आफ्नै हुनेछन्।

(यो सामग्री जनवरी १, १९१६ मा आभान्ती पत्रिकामा छापिएको ग्राम्सीको  लेख लेफ्टभोइस डट ओआरजीबाट अनुवाद गरी स्कुल अफ मार्क्सिज्म नेपालले प्रकाशित गरेको हो।)

प्रतिक्रिया दिनुहोस