aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

अब नेपालबाट अमेरिका, स्वीजरल्याण्ड र रुवान्डामा सिधा हवाई उडान

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • आइतबार, १७ पुस २०७९
अब नेपालबाट अमेरिका, स्वीजरल्याण्ड र रुवान्डामा सिधा हवाई उडान

काठमाडौं । सरकारले अमेरिका, स्वीजरल्याण्ड र रुवान्डामा सिधा हवाई उडान सेवा संचालन गर्ने तयारी गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव सुरेश अधिकारीले सो जानकारी गराएका हुन् । नेपाल नागरिक उडड्यन प्राधिकरणको २४ औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले त्यसका लागि अमेरिका, स्वीजरल्याण्ड र रुवान्डामा हवाई उडान सेवा सम्झौंताको प्रक्रियालाई अघि बढाएको पनि स्पष्ट पारे ।  

बाह्य पर्यटकहरुको संख्या नेपालमा बढ्दै गएकाले पनि ती देशहरुमा सिधा हवाई उडानको आवश्यक्ता रहेकाले सरकारले सो कामलाई प्राथमिकताका साथ अघि बढाएको सचिव अधिकारीको भनाई थियो ।

उनले भने, ‘अमेरिकासँगको एयर सर्भिस एग्रिमेन्ट, स्वीजरल्याण्डसँगको, रुवान्डासँगको एयर सर्भिस एग्रिमेन्टको प्रोसेस अगाडि बढेको छ । हामी अरु देशहरुसँग पनि जहाँ धेरै सम्भावना छ । त्यहाँ एयर सर्भिस एग्रिमेन्ट गर्दै जाऊ । एउटा एयरलाईन्सहरुबीचको एलाईन्स यसले निर्माण गर्छ । हाम्रो यात्रुहरुको संख्या बढछ। किनकी टुरिज्म सेक्टर रिभाईभ हुँदैछ । टुरिष्टहरुको संख्या बढिरहँदाखेरी एभिएशन मार्केट पनि बढदै जान्छ । त्यसका लागि हामीले ग्लोबल्ली र सम्भावित देशहरुसँग एयर सर्भिस एग्रिमेन्ट गर्दै जानुपर्ने आवश्यक्ता रहन्छ ।’

कार्यक्रममा बोल्दै नेपाल नागरिक उडड्यन प्राधिकरणका  महानिर्देशक प्रदीप अधिकारीले दूर्गम क्षेत्रहरुमा उडान भर्ने वायु सेवा कम्पनीहरुलाई आर्थिक राहत पुर्‍याउनका लागि अतिरिक्त समय संचालन शुल्क खारेज गर्ने निर्णय गरिएको बताए ।

‘दुर्गम क्षेत्रको विमानस्थलमा उडान गर्ने वायु सेवा कम्पनीहरुलाई आर्थिक राहत पुर्‍याउने उद्देश्यले त्यस्ता प्रकरणका कम्पनीहरुलाई दिइदै आएको अतिरिक्त समय संचालन शुल्क खारेज गरिएको छ ।’, उनले भने ।

उनले दूर्गम क्षेत्र हवाई कोष संचालन कार्यविधिको मस्यौदा तर्जुमा गरी त्यहाँ उडान भर्ने वायु सेवा कम्पनीहरुको उडान घाटा परिपूर्ति गर्ने कामलाई अघि बढाइको पनि बताए। 

प्रतिक्रिया दिनुहोस