aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न १६ औँ अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ पुस २०७९

काठमाडौं । फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालको आयोजनामा १६ औँ अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । यही पौष २१ गतेदेखि २३ गतेसम्म काठमाडौँको भृकुटी मण्डपमा उक्त प्रदर्शनी हुने भएको हो । 

स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न प्रदर्शनीको माध्यमबाट व्यापक प्रचारप्रसार गरी बाह्य बजार समेत विस्तार गर्ने रणनीतिक पहल गर्नका लागि यो पदर्शनी गर्न लागिएको उक्त एशोसिएसनका अध्यक्ष नानिराज घिमिरेले बताए । साथै उनले जुत्ता उत्पादनको हिसाबले आत्मनिर्भर रहेको समेत जानकारी दिए ।

त्यस्तै, अध्यक्ष घिमिरेले ग्रे मार्केटका कारण नेपाली जुत्ता उद्योगी समस्यामा रहेको बताए । कार्यक्रममा बोल्दै उनले भने, ‘ग्रे मार्केटका कारण नेपाली जुत्ता उद्योगी समस्यामा रहेका छन् । यो समस्या समाधानका लागि विभिन्न निकाय धाउँदा समेत समाधान भएको छैन । अब आउने सरकारले यश समस्यालाई रोक्छ भन्नेमा आशावादी छौँ ।’   

आइतबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मेला संयोजक समेत रहेका एशोसिएसनका उपाध्यक्ष सुरज बन्जाडेले मेलाको सबै तयारी पुरा भएको बताए । त्यस्तै उनले उक्त मेला राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुने जानकारी दिए । 

१६ औँ अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०७९ आयोजनाले स्वदेशी उत्पादनका बारेमा नेपाल डिलर, होलसेलर तथा खुद्रा व्यापारीहरूलाई आफ्ना उत्पादनबारेमा जानकारी गराउन सकिने आयोजकको भनाई रहेको छ । त्यस्तै, विदेशी जुत्ता चप्पल तथा छालाका वस्तुहरूको आयातलाई प्रतिस्थापन गरी जुत्ता चप्पल तथा छालाका वस्तु उत्पादनका क्षेत्रमा मुलुकलाई आत्म निर्भर बनाउन पनि यो प्रदर्शनीले सहयोग गर्ने आयोजकको विश्वास रहेको छ । 

डिलर, होलसेल, खुद्रा विक्रेताहरू नै उत्पादनलाई सफल बनाउने मूल पात्रहरू भएका हुँदा उपभोक्ताका उत्पादकहरूले प्रत्यक्ष भेटी उनीहरूका गुनासा तथा राय सुझाव सङ्कलन गरी कमी कमजोरीलाई सच्याउँदै आफ्ना उत्पादनहरूमा सुधार ल्याउने बन्जाडेको बनाई छ । ‘ प्रतिस्पर्धा व्यापार व्यवसायको एउटा सुन्दर पक्ष पनि हो र चुनौती पनि हो । तसर्थ एक अर्का उद्यमी बिच स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरी उत्पादनको गुणस्तर तथा डिजाइनमा सुधार ल्याउने वातावरण तयार गर्नु मेलाको उद्देश्य हो’, उनले भने । 

उनका अनुसार अस्वस्थ प्रतिस्पर्धालाई न्यूनीकरण गराउँदै उद्योगी व्यवसायी बिच “एकका लागी सबै र सबैका लागी एक भन्ने भावना महसुस गराई दिगो हार्दिकता सृजना गर्नु यो मेलाले टेवा दिनेछ । उद्योगलाई आवश्यक पर्ने सहायक कच्चा पदार्थ उपलब्ध गराउने व्यक्ति र उद्योगी, उद्योगी र उपभोक्ता, उद्योगी र व्यापारी, नीति नियम बनाउने सरकारी निकाय र त्यसलाई पालना गर्ने उद्यमी, राजनीतिज्ञ र उद्यमी, सञ्चार क्षेत्र र उद्यमी एकै साथ एकै ठाउँमा भेला भई एक अर्काका समस्या सुन्ने र सुनाउने अवसर प्रदान गर्ने साझा मञ्चको रूपमा स्थापित गराउनु यो मेलाले सहयोग गर्ने आयोजकको विश्वास रहेको छ । 

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी हुने यस अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीका विशेषता रहेको छ । प्रथम पटक बी एन्ड बी सेल्स हुने, विदेशी डिलर होलसेलरलाई प्रदर्शन अवधिभर होटेल सुविधा सहित आमन्त्रण गरिएको जसको परिणाम स्वरूप नेपाली उत्पादनको विदेश निर्यातको सम्भावना रहेको र देश भरीबाट ४० हजारदेखि ५० हजार उद्योगी, डिलर, होलसेलर र खुद्रा व्यापारीहरूको सहभागिता जनाउने अपेक्षा गरिएको छ । 

यस प्रदर्शनीमा विदेशी कच्चा पदार्थ, मेशिनरी र प्रविधि सहितको ४० भन्दा बढी कम्पनीका स्टल रहने र नेपाली फुटवेयरका १० कम्पनी सहभागी हुनेछन् । तीन सयभन्दा धेरै सरकारी, गैरसरकारी, व्यावसायिक संघसस्थाहरु, विदेश स्थित कूटनैतिक नियोग र राज्यका नितिनिर्माण तहका संस्था तथा व्यक्तित्वहरूलाई प्रदर्शनी अवलोकन गराउने उद्देश्य राखिएको छ । यो प्रदर्शनीमा नेपालमा फुटवेयर तथा छालाजन्य सामाग्री उत्पादन विधि कच्चा पदार्थको गुणस्तरको पनि जानकारी गराइनेछ । 

एउटै छानामुनि देशभरिका उद्योगी हुने हुँदा पछिल्लो नयाँ डिजाइन, विकास र प्रतिस्पर्धी मूल्य छानेर कारोबार गर्नको लागि सहजता हुने, विश्वमा ख्याति कमाएका बहु राष्ट्र कम्पनीहरूले यो प्रदर्शनीमा भाग लिने हुँदा नेपाली उद्यमीले आफ्नो उत्पादनलाई प्रतिस्पर्धी मुल्यमा गुणस्तरीय कच्चापदार्थ, मेशिनरी र प्रविधिको पहुँच सहज हुन गई गुणस्तरीय उत्पादन गर्न सहज हुने र प्रदर्शनीमा नेपालका ठुला उत्पादक देखि साना घरेलु उद्योगहरूलाई समावेश गरिएको स्टलको मूल्य तिर्न असमर्थ उद्योगहरूलाई केही सङ्ख्यामा निःशुल्क राख्ने व्यवस्था मिलाइएका छ । 

१६औँ अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी सम्भाव्य अवलोकनकर्ताहरूमा १६औँ अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीमा नेपालका फुटवेयर व्यवसायजन्य सामान डिलर, होलसेल खुद्रा विक्रेताहरू, १६ औँ औद्योगिक प्रदर्शनीमा हुने वस्तुका थोक तथा खुद्रा विक्रेताहरू, वस्तुका उत्पादन कर्ता तथा निर्यातकर्ताहरू, सम्बन्धित संघ/संस्थाहरू, सरकारी तथा गैर सरकारी निकायहरू, कच्चा पदार्थका उत्पादक तथा आपूर्तिकर्ताहरू, उद्योग व्यवसायलाई सघाउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरू, प्रदर्शनीलाई सहयोग गर्ने निकायहरू रहेका छन् । यस्तै, स्कुल क्याम्पसका विद्यार्थीहरू तथा शिक्षक शिक्षिकाहरू, एवं प्राध्यापकहरू, बैंक तथा वित्तीय संघ संस्थाहरू, पत्रकार कलाकार, अनुसन्धानकर्ताहरु, एवं स्थानीय व्यवसायीहरूले अवलोकन गर्ने आयोजकको भनाई छ । 

यस अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको मुख्य लक्ष्यहरूमा हाल नेपालमा बिक्री हुने फुटवेयर जन्य सामान करिब ५० प्रतिशत रहेको छ । यसलाई नेपाल भरीका डिलर, खुद्रा व्यवसायी मार्फत बिक्री वितरणमा वृद्धि बढाई नेपाली उत्पादनको हिस्सा ७५ प्रतिशत पुर्‍याउने, हाल भइरहेको निर्यातलाई दोब्बर बनाउने, नेपाली फुटवेयर उद्योगमा लाग्ने कच्चा पदार्थको हिस्सा करिब ४० प्रतिशत रहेको र यसलाई ६० प्रतिशत मा पुर्‍याउने र कच्चा पदार्थ, मेशिनरी र प्रविधिमा वैदेशिक लगानी भित्र्याउने रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस